शनिबार, बैशाख ०८, २०८१

मिडिया काउन्सिलसम्बन्धी विधेयक संशोधन हुन्छ : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढ्ने स्पष्ट पार्नुभएको छ ।

प्रेस सङ्गठन चितवनले बुधबार भरतपुर बिमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाले सरकारले ल्याएका कतिपय विधेयकमा आवश्यक गृहकार्य नपुगेको बताउँदै छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

लोकसेवा आयोग सम्बन्धी विधेयकको सवालमा संसदीय समितिले एक खालको निर्देशन दिएको र सरकारले अर्कै खालको निर्णय गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि आवश्यक छलफल गरेर निश्कर्षमा पुगिने उहाले बताउनुभयो । पार्टी एकताको बाँकी काम टुंग्याउने गृहकार्य भइरहेको भन्दै उहाले केही जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोक्ने सिलसिलामा गृहकार्य नपुगेको स्वीकार गर्नुभयो ।

प्रचण्डले पार्टी एकता प्रक्रियामा टुंगो लाग्न बाँकी रहेका इञ्चार्ज, सहइञ्चार्ज, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार समिति, आयोगलगायत एकै साथ प्याकेजमा टुंगो लाग्ने जिकिर गर्नुभयो ।