बिहिबार, बैशाख १३, २०८१

पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान

न्यूयोर्क । अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान गरिएको छ ।

विगत लामो समयदेखि अमेरिकामा रही नेपाली समुदायमा सक्रिय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको हो ।

समुदायको हितका लागि काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आइतबार भएको एक बिशेष कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरे ।

अवार्डमा ‘आफ्नो समुदायको हित हुँदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सकृयताको शुभकामना गर्दछौं’ लेखिएको छ ।

अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नवनिर्वाचित उपाध्यक्ष बुद्धि सुवेदी, शिकागो क्षेत्रका लागि पर्यटनदूत बाला घिमीरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्वल भविष्यको कामना गर्दै समुदायको हितका लागि थप सक्रिय हुन शुभकामना दिएका थिए । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टिका बरिष्ठ नेता हुन् ।

नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहँदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा पत्रकारितामा सक्रिय थिए । बिगत ९ बर्षदेखि अमेरिकामा रहेका पत्रकार थापा अमेरिकामा आएपछि ह्वाईट हिमाल टिभी हुंदै हाल कार्यक्रम यु स्टाट अगेनमार्फत समुदायको हित र बिकासका कुराहरुलाई उठाउँदै आएका छन् ।

प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपूर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन् ।