शुक्रबार, चैत १६, २०८०

देशभर ‘विप्लव’ नेतृत्वको नेकपासंग सेनाको तयारी,सरकार किन मौन !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जेठ १३ गते नेपाल बन्दको आह्वान गर्‍यो तर अघिल्लै दिन काठमाडौंको सुकेधारा र अनामनगरमा बम विस्फोटमा परी ४ जना विप्लवका कार्यकर्ताको मृत्यु भएको पुष्टि भइसकेको छ ।

विप्लवले बन्द आह्वान गरेको भोलिपल्ट संसदमा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहसँग ४ वटा कम्पनी सेना भएको खुलासा गरे । उनले ४ वटा कम्पनी छन् भनेपनि कहाँ–कहाँ छन् भनेर खुलाएनन् ।
गृहमन्त्री बादलको खुलासापछि नेपालका सुरक्षा संयन्त्रमा खैलाबैला भयो । गृहमन्त्रीसँग यस्तो सूचना कहाँबाट पुग्यो ? कतिपय सुरक्षा निकाय नै जिल्ल परे ।
महत्त्वपूर्ण सुरक्षा निकाय नेपाल प्रहरीसँग विप्लवका सेनाबारे कुनै सूचना नरहेको प्रहरीका एक अधिकारीले बताए । ‘गृहमन्त्रीज्यूलाई विशेष सूचना आएकाले बोल्नुभएको होला । देशको सुरक्षाको विषय कुनै पनि आधार नभएसम्म नबोल्नुपर्ने हो,’ उनले भने ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान व्यूरोले सूचना ल्याएको अन्य सुरक्षा संयन्त्रमा अड्कलबाजी भइरहेका छन् ।
गृहमन्त्रीसँग विप्लवबारे सूचना हुँदाहुँदै पनि सरकारले किन नियन्त्रण गर्न सकेन रु सरकारले सूचनालाई गोप्य राखेर टुलुटुलु के हेरेर बसेको छ रु यी प्रश्न जन्मिएका छन् ।
गृहमन्त्रीको भनाइपछि सुरक्षा निकायमा अन्योल रहेको सशस्त्र प्रहरी बलका एक अधिकारीले बताए । उनका अनुसार विप्लवले सेना बनाएको र त्यसविरुद्ध कारवाही गर्न गृह मन्त्रालयबाट कुनै निर्देशन समेत आएको छैन ।
विप्लव समूहले देशभर ७ प्रदेश र ७७ जिल्लामा भूमिगत रुपमा आफ्ना कार्यक्रम चलाइरहेको छ । प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीका अनुसार विप्लव समूहले तत्कालीन माओवादीको सैन्य शैलीमा संगठनलाई संगठित बनाएको सूचना छ । ‘७७ वटै जिल्लामा १०–१३ जनाको संख्यामा सैन्य ‘सेक्सन’ बनाएकाले ३ सय ८५ कार्यकर्ता रहेको बुझिन्छ,’ उनले भने । ७ वटा प्रदेशमा ७ देखि ९ जनाको ‘प्लाटुन’मा ४९ जना रहेको गुप्तचर अधिकारीको अनुमान छ ।

पूर्व, मध्य, पश्चिम र सूदुरपश्चिममा १/१ वटा कम्पनी गरी ४ कम्पनी रहेको स्रोतले जनाएको छ । १ कम्पनीमा १ सय ५० जनासम्म कार्यकर्ता रहेको अनुमान सुरक्षा अधिकारीले गरेका छन् ।