शुक्रबार, चैत १६, २०८०

दुईतिहाइ भएकै वेला निर्वाचन प्रणाली संशोधन गर्नुपर्छ : नेता खनाल

इलाम । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
उनले सरकारको दुईतिहाइ भएकै वेलामा निर्वाचन प्रणाली र संसदीय व्यवस्था पनि संशोधन गर्नुपर्ने विचार व्यक्त गरेका हुन्।
‘संविधानले परिवर्तनको सबै बाटो खुला गरेको छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले भने, ‘साम्यवादसम्म पुग्न संविधानले ढोका खुला गरेको छ।’ खनालले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै त्यसलाई पनि बदल्नुपर्ने धारणा राखे।

इलाममा मंगलबार खनालले नेकपाको जिल्ला कमिटी र स्थानीय तहका अध्यक्ष र सचिवलाई शपथ गराएका थिए। ‘निर्वाचनको खर्च नियन्त्रण भएन भने हाम्रो लोकतन्त्र श्रमिक जनताको लोकतन्त्र हुँदैन, यो धनाढ्यहरूको पुँजीवादी लोकतन्त्र हुन्छ,’ खनालले भने, ‘पुँजीवादी लोकतन्त्रको फन्का मारेर साम्यवादमा पुगिँदैन।

खनालले सुरुमा आफूले केही हजारमा चुनाव लडेको स्मरण पनि गरे। ‘सुरुमा केही हजारमा चुनाव लडेको थिएँ। त्यो खर्च विस्तारै लाखतिर पुग्यो। विगतमा आच्छुआच्छु हुँदै लाखमा चुनाव लडियो, कति लाख ? भन्न जरुरी भएन। अब कुनै पनि निर्वाचन क्षेत्रमा लाखमा चुनाव लड्न सकिँदैन। यसलाई नियन्त्रण गर्नुपर्छ।

नेता खनालले पार्टी एकीकरण गर्दा मातहतका कमिटी विघटन गर्नु गल्ती भएको बताएका छन्। ‘तीन महिनामा गर्ने भनेको काम एक वर्षमा पनि सकिएको छैन, मातहतका कमिटीहरू विघटन नगरेको भए हुन्थ्यो,’ खनालले भने, ‘तल्लो कमिटी विघटन गरेर पार्टीलाई नोक्सानी भयो।’ उनले आठ लाख पार्टी सदस्य एक वर्ष निष्क्रिय रहनुपरेकाले त्यसले पार्टीलाई नोक्सान भएको दाबी गरे।

नेकपाका दुई अध्यक्षले पार्टी एकीकरणमा पर्याप्त समय दिन नसकेकाले एकीकरण प्रक्रिया पूरा नभएको उनले टिप्पणी गरेका छन्। ‘बसेर काम गर्दा चाँडै टुंगिन्छ, अध्यक्षद्वयले समय दिन नसकेकाले एकीकरण प्रक्रिया लम्बिएको छ नेता खनालले भने, ‘एकीकरणको दस्तावेज प्रकाशित हुन बाँकी छ, पोलिटब्युरो र सल्लाहकार समिति गठन हुन सकेको छैन।’

चाँडोचाँडो मिटिङ बस्ने हो भने जेठ महिनाभित्रमै एकीकरण प्रक्रिया पूरा हुने खनालको भनाइ थियो। नेपालमा ५६ वर्षमा जनवादी क्रान्ति सफल भएको बताउँदै नेता खनालले समाजवाद प्राप्तिका लागि तीनै तहको सरकारले इमान्दार भएर काम गर्नुपर्ने जिकिर गरे।

उनले स्थानीय र प्रदेश तहमा निर्वाचित प्रतिनिधिलाई प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिए।