शुक्रबार, बैशाख ०७, २०८१

सञ्चार क्षेत्रमा अहिलेसम्म संघीयता आएको छैन : अध्यक्ष आचार्य

काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार क्षेत्रमा अहिलेसम्म संघीयता नआएको बताएका छन् । आवश्यक पर्‍यो भने पत्रकार महासंघ लोकतान्त्रिक दलहरुसँग मिलेर सडकमा पनि उत्रन सक्ने अध्यक्ष आचार्यको भनाइ छ ।

प्रेस स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा नेपाल पत्रकार महासंघले बुधबार काठमाडौंको बबरमहलदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गर्‍यो । सो कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष आचार्यले सञ्चार क्षेत्रमा संघीयता अनुरुपको ढाँचा तयार हुन नसकिरहेको बताए ।

हामी पत्रकार भनेका श्रमिक पनि हौं । हामी श्रम गर्छौं, तर श्रम गरेअनुसारको हामीले पारिश्रमिक, ज्याला पाएका छैनौं ।

त्यसैगरी हामी स्वतन्त्रताको वकालत गर्छौं । पत्रकार महासंघ भनेको आफैंमा आन्दोलनको नाम हो । पत्रकार महासंघ स्थापना कालदेखि लोकतन्त्रका लागि लड्दै आएको छ । नागरिक अधिकारका लागि लड्दै आएको छ । राष्ट्रियताको पक्षमा पत्रकार महासंघले आवाज उठाएको छ । स्वतन्त्रताको हक अन्तरगत बाँच्न र लेख्न देऊ भनेर पत्रकार महासंघ पटक-पटक सडकमा आएको छ र अहिले पनि पत्रकार महासंघ आवश्यकता पर्‍यो भने सडकमा आउनका लागि तयार छ । किनभने, हामीले विधानमा नै स्पष्टसँग लेखेका छौं, जब-जब लोकतन्त्रमाथि संकट पर्छ, पत्रकार महासंघ लोकतन्त्रविना प्रेस स्वतन्त्रता सम्भव छैन भन्ने मान्यता राख्छ र लोकतान्त्रिक आन्दोलनमा सँगसँगै लोकतान्त्रिक दलहरुसँगै सडकमा पनि उत्रन्छ । यो पत्रकार महासंघको इतिहास हो ।

पत्रकार महासंघ आगामी दिनमा पनि प्रेस स्वतन्त्रताको अभियानमा, नागरिक स्वतन्त्रताको अभियानमा, लोकतन्त्रको अभियानमा अझ सबल ढंगले अगाडि बढ्छ ।

देशमा राज्यको पुनसंरचनासँगसँगै सञ्चार क्षेत्रको पुनसर्ंरचना अहिले पनि भएको छैन । सञ्चार क्षेत्रमा अहिले पनि संघीयता आएकै छैन । अहिले पनि सञ्चार क्षेत्रका कुनै पनि संरचनाहरु संघीय ढाँचा अनुरुपका छैनन् । त्यसैले, देशको सञ्चार क्षेत्रलाई संघीय ढाँचामा लानका लागि, सिंगै सञ्चार क्षेत्रको पुनर्संरचना गर्नका लागि, तीनै तहले बनाउने सञ्चारसम्बन्धी नीति र कानुनहरु प्रेस स्वतन्त्रतामैत्री बनाउनका लागि आवाज उठाउनुपर्ने छ ।
सिंगो सञ्चार क्षेत्रलाई संघीय ढाँचामा लगेर स्वरोजगारमूलक साना लगानीका र दुर्गम क्षेत्रमा सञ्चालित सञ्चार माध्यमहरुको प्रवर्द्धन र विकासका लागि पनि पत्रकार महासंघले आवाज उठाउनुपर्ने बताए ।