बिहिबार, बैशाख ०६, २०८१

जापानमा साकुरा फूल हेर्ने समयमैं नेपालमा गुरास हेर्ने मेलो मिलाऔं

-नन्द गुरुङ
‘साकुरा’जापानको राष्ट्रिय फूल वा पुष्प हो । जुन फूल हेर्न जापानका आन्तरिक र अन्तराष्ट्रिय पर्यटकको ओईरो लाग्छ ।
यहाँ हरेक वर्ष हनामी (फूल हेर्ने) दिन धुमधाम हुन्छ । पर्यटकहरु साकुरा दृश्यावलोकन गर्न बसन्त ऋतुको शुरुवात संगै भिड लाग्ने गर्छ । मार्च र अप्रिल महिना जापानको ठाउँठाउँमा घुँइचो नै लाग्छ । प्राचिनकाल नाराको समयमा शुरुवात हुदै साकुरा हेर्ने विधिवत रुपमा इ स (७९४ -११८५) हानामी शुरु भएको इतिहास छ । बिशेष गरि धान वा खेतीपाती लगाउने समयमा यो फुल्ने भएकाले पनि साकुरा रुख प्रशंसा, आत्मा र सौन्दर्यताको प्रतिक मानिएको छ ।
विभिन्न खाद्य वस्तुहरु र सौन्दर्य सामाग्रीहरु उत्पादन तथा पर्यटकीय व्यवसायले जापानको आय श्रोतलाई प्रत्यक्ष रुपमा टेवा पुर्याएको छ । जापानको जस्तै हाम्रो नेपालको राष्ट्रिय फूल लाली गुराँस हो । गुराँस प्राकृतिक सौन्दर्यसंगै विभिन्न रोगहरु निको पार्ने औषधी समेत मानिन्छ । प्राचिनकालदेखि औषधीका रुपमा मानव सभ्यतासँगै प्रयोगमा आएको इतिहास पनि छ । गुराँस फुल्ने याममा नेपालका पहाड राताम्मे हुन्छन् । ति ठाउँ पर्यटकीय गन्तव्य वन्न सक्छन् । पर्यटन विकासको प्रचुर संभावना वोकेको छ । हामी पनि सोचौं नेपाली लाली गुराँसलार्ई हनामी (फूल हेर्ने) उत्सव वा पर्व वनाउन सक्दैनौ र ?
जापानले आफ्नो राष्ट्रिय फूलको सम्मान गर्दै प्रत्येक वर्ष साकुरा हनामी प्राचिन कालदेखि मनाउदै आइरहेको छ । राष्ट्रिय अन्तराष्ट्रिय पर्यटक, विभिन्न पेशागत, विद्यार्थी, बालबालिकादेखि वृद्धसम्मलाई साकुराले आकर्षण गर्दछ । साकुरा फूलको विशेष महत्व छ । जापानले आफ्नो पर्यटकीय तथा स्थानीय विकास र आय श्रोतलाई विकाश गर्न साकुराको स्वादमा विभिन्न परिकारहरु, चक्लेट, रक्सि, जुस लगायत अन्य थुप्रै परिकार वनाउँछ । साथै सौन्दर्यका सामग्रीहरु साबुन, हेन्ड तथा वोडी लोसन उत्पादन गरि बिक्रि गरिरहेका छन् । रेष्टुरेन्टहरुमा पनि हरेक खाना सेटमा साकुराको सलाद दिएकै हुन्छ । स्थानीय श्रोत साधनको प्रतक्ष्य प्रयोग गरि देश विकाशमा टेवा पुर्याइरहेको छ । तर हाम्रो नेपालमा राष्ट्रिय फुल नाममा मात्र सिमित गरिएको छ ।
नेपाल धेरै जातिका फुल पाइने देश मध्य एक हो । प्राकृतिक सौन्दर्यले भरिपुर्ण पहरा छहराको बीचमा ढकमक्क फुल्ने राष्ट्रिय लाली गुराँश नाममा मात्र सिमित छ । अझैसम्म जुन फूलको महत्व र प्रयोग भएको छैन । यसको परिकार र औषधीको पहिचान नभएको अवस्थामा छ । नेपालको विशेष मध्यपहाडी क्षेत्रमा फुल्ने यो फूल वहुउपयोगी वनाउन सकिन्छ । जापानको जस्तो नेपालमा पनि लाली गुराँशलाई हनामिको रुपमा प्रयोगमा ल्याउन सके राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटक आकर्षित गरेर यहाँको विकास र उन्नति गर्न सकिन्छ । स्थानीय श्रोत साधनको प्रयोग र लाली गुराँशको महत्व र संभावनाको विकास गर्न कुनै समय लाग्दैन । तर त्यस तर्फको सोंचाई र इच्छा शक्ति भने अवश्य हुनुपर्छ ।
तसर्थ, जापानको ‘साकुरा’ हनामी नेपालको ‘लाली गुराँश’ हनामी बनाउन कुनै समय लाग्दैन । राष्ट्रिय र अन्तराष्ट्रिय रुपमै पर्यटन क्षेत्र र यामको विकास गर्न स्थानीय श्रोत साधनलाई परिचालन गरि समृद्धि बन्न सघाउन सकिन्छ ।

यसले नेपालको पृथक पहिचान स्थापित गर्नेछ । प्राकृतिक भीर, पहरा, पहाड, र हरियाली ति पखेराहरुमा लुकामारी गरि फुल्ने लाली गुराँशको विकास गर्ने सोंच अघि सारौं । आउनुस सोंच बदलौं । नेपालको लाली गुराँस हेर्ने उत्सव मनाऔं र नेपालीको शान अझ अग्लो वनाऔं । गुराँशको सौन्दर्यताबाट पर्यटन विकास गरी नेपालको अर्थतन्त्रमा योगदान पुर्याऔं ।