शनिबार, बैशाख ०८, २०८१

दाङमा नयाँ विद्यालयले सञ्चालन अनुमति नपाउने

तुलसीपुर । दाङका दशवटै स्थानीय तहले यसवर्ष नयाँ विद्यालय सञ्चालन गर्न अनुमति नदिने भएका छन् ।

नयाँ शैक्षिक सत्र सुरु भएसँगै नयाँ विद्यालय सञ्चालनका लागि आएका प्रस्तावहरु स्वीकृत नहुने भएका हुन् । नाफा आर्जन गर्ने खालका विद्यालय अर्थात् प्रालिको नामबाट विद्यालय सञ्चालन गर्नेहरुलाई यसवर्ष कुनै पनि अवस्थामा विद्यालय सञ्चालन गर्न नदिने स्थानीय तहका शिक्षा प्रमुखहरुले बताएका छन् ।

विद्यालयको संख्या घटाउनुपर्ने समयमा नयाँ विद्यालय सञ्चालन गर्नुको कुनै औचित्य नभएको तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्कर गौतमले बताउनुभयो । तुलससीपुर उपमहानगरपालिकामा अहिले कतिपय विद्यालयहरु मर्ज हुने अवस्थामा रहेकोको प्रमुख गौतमले जानकारी दिनुभयो ।

नयाँ विद्यालय सञ्चालनका लागि निर्णय भएको भए पनि यसवर्ष कार्यान्वयन नहुने घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख नारायणप्रसाद पौडेलले बताउनुुभयो । दंगीशरण गाउँपालिकाले पनि नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिएको गाउँपालिकाका प्राविधिक सहायक अनिल केसीले जानकारी दिनुभएको छ ।