शुक्रबार, बैशाख ०७, २०८१

आज लोकतन्त्र दिवस,देशभर मनाइँदै

काठमाडौं। नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ। लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए।

संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेको थिएन। निर्वाचन नभएपछि राजाले इच्छामा प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चलिनै रह्यो। तत्कालिन राजा राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे।

विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो। विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो। विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो। नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए। चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्गचित्रमा सहमत भए।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे। यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ।