बुधबार, बैशाख १२, २०८१

पुनः समायोजनको माग गर्दै स्वास्थ्यमा क्रियाशील संगठनद्धारा सरकारलाई ज्ञापनपत्र पेश

काठमाडौ । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संगठनले पुनः समायोजन गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

समायोजन ऐन र स्वास्थ्य सेवा ऐनको मर्म र मापदण्डविपरीत कर्मचारीको समायोजन गरिएको भन्दै स्वास्थ्यका ट्रेड युनियन र संगठनले विधि र प्रक्रियाबाट पुनः समायोजन गर्न आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् ।

संगठनले ऐनको भावनाविपरीत समायोजन गरिएको, स्वास्थ्य सेवाको छुट्टै सफ्टवेयर निर्माण नगरी समायोजन गरिएको, आवेदनका लागि पर्याप्त समय नदिइएको, अन्तिम सूची प्रकाशित नगरी समायोजन गरिएको, दरबन्दी यकिन नगरी समायोजन गरिएको जस्ता त्रुटि औल्याएका छन् ।

त्यसैगरी श्रीमान श्रीमती, अवकाश हुनै लागेको, गम्भीर प्रकृतिका बिरामी, बसोबास स्थानदेखि सुत्केरी गर्भवतीसमेत ख्याल नगरी समायोजन गरिएकोले पनि सच्याउनुपर्ने माग उनीहरुको छ ।

यस्ता त्रुटिका कारण समग्र स्वास्थ्य सेवा प्रभावित हुने, स्वास्थ्य क्षेत्रबाट प्राप्त गरेको उपलब्धिसमेत गुम्ने खतरा भई स्वास्थ्य सेवा प्रवाह गर्नै समस्या देखिने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यदि स्वास्थ्यकर्मीलाई जबरजस्ती समायोजन गरेमा सम्पूर्ण स्वास्थ्यकर्मी आन्दोलनमा जान बाध्य हुने चेतावनी उनीहरुले दिएका छन् ।