मङ्गलबार, बैशाख ०४, २०८१

भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण गर्न लामै समय लाग्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको लडाईं चुनौतीपूर्ण रहेको भन्दै प्रधानमन्त्रीले जतिसुकै लामो समय लिए पनि भ्रष्टाचार उन्मूलन गरेरै छाड्ने बताए ।
नयाँ वर्ष २०७६ को उपलक्ष्यमा देशवासीलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जुनसुकै मूल्य चुकाएर भए पनि राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट नदिने स्पष्ट पारे ।
‘राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक भएकै छ । भ्रष्टाचार विरुद्धको लडाइँ चुनौतीपूर्ण छ । यसले लामै समय लिन्छ’, प्रधानमन्त्रीले भने । सुशासनको शत्रु भ्रष्टाचार भएको भन्दै प्रधानमन्त्रीले ‘भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने, भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने’ आफ्नो दृढ सार्वजनिक घोषणा भएको पनि उल्लेख गरे ।
भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली नभएको उनले बताए । प्रधानमन्त्रीले भने, ‘तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटोको चुच्चे ढुंगालाई साक्षी राखी गर्दिनँ भनेको काम कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन ।

प्रधानमन्त्रीले गत वर्ष संघीय शासन व्यवस्थाको जग बसाल्दै गर्दा कसरी काम गर्ने भन्ने अवस्थामा मुलुक रहेको स्मरण गर्दै अहिले प्रगति सुनाउने अवस्थामा नेपाल आइपुगेको पनि जिकिर गरे ।