शनिबार, बैशाख ०८, २०८१

रामेछापको सुनापती डाँडाबाट प्याराग्लाइडिङ उडान गर्न अध्ययन सुरु

रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकाको सुनापती डाँडाबाट अब प्याराग्लाइडिङ उडान हुने भएको छ । पर्यटकी क्षेत्र सुनापती डाँडाबाट प्याराग्लाइडिङ उडान गर्नको लागि सम्भाव्यता अध्ययनको काम अगाडि बढेको हो । समुन्द्री सतहबाट २२ सय मिटर उचाइमा रहेको सुनापती डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने नीति सुनापती गाउँपालिकाले लिएको छ ।

तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा यस बर्ष प्याराग्लाइडिङ उडान गर्नको लागि सम्भाव्यताको लागि बजेट विनियोजन गरिएको छ । कार्यक्रम अन्तर्गत प्याराग्लाइडिङको सम्भावनाको विषयमा प्राविधिकहरुले शनिवारबाट अध्ययन थालेका छन् ।
सुनकोसी लहरेमाने, सुनापती पर्यटकीय संरक्षण क्षेत्रले प्रदेश सरकारबाट प्राप्त बजेटले अध्ययनको काम अगाडि बढाएको हो । सुनापती गाउँपालिकाले पनि सुनापती डाडाँको गुरु योजना निर्माण गरेर काम अगाडि बढाउने भएको छ ।

अव्यवस्थित रुपमा भौतिक संरचना निर्माण हुनबाट रोक्न यस बर्षबाटै गुरु योजनाको काम अगाडि बढाइने सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बताए । सुनापती डाँडामा जानको लागि डोक्मातर्फबाट सिढी निर्माणको काम अगाडि बढेको छ ।

सुनकोसी लहरेमाने सुनापती पर्यटकीय संरक्षण क्षेत्रका अध्यक्ष राज मैनालीले प्याराग्लाइडिङको लागि प्राविधिकहरुले अध्ययन सुरु गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘पर्यटकी क्षेत्रको विकासमा प्याराग्लाइडिङ उडानले सुनापती गाउँपालिकालाई ठूलो फाइदा हुनेछ ।’ पोखरा र सराङकोटको आकाशमा उडान भदै आएको प्याराग्लाइडिङ अब सुनापती डाँडाबाट उडने भएको छ ।
काठमाडौंबाट करिब एक सय वीस किलोमिटर दुरीमा रहेको सुनापती डाँडामा पुग्न चार घण्टा लाग्छ । सुनापती डाँडाबाट दोलखाको गौरीशकंर हिमाल, सैलुङ क्षेत्र, ऐतिहासिक सिन्धुलीगढी सहजै देख्न सकिन्छ । त्यसैले प्याराग्लाइडिङका लागि यो गन्तव्य उपयुक्त हुन सक्छ । यो उडानका लागि कम्तिमा ३ जना चाहिन्छ ।

बर्षातको समयमा एयर भिजिविलीटी कम हुने भएकाले उडान गर्न अलि गाह्रो हुने गर्छ । पोखरामा प्याराग्लाइडिङको चाप भएकाले प्याराग्लाइडिङको उपयुक्तस्थल सुनापती पनि हुन सक्छ । सुनापती डाँडाबाट उडान हुने प्याराग्लाइडिङ सुनकोसी सुनापती गाउँपालिका–४ स्थित सिन्दुरेटार र सिन्धुलीको नेपालथोकमा ल्याण्ड गरिनेछ ।
@रामेछाप न्युज