बिहिबार, बैशाख १३, २०८१

नेपाल एयरलाइन्सले जापानको ओशाकामा आगामी जुलाई ४ देखि उडान भर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापान उडान सुनिश्चित भएको छ।

जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ।
जापान उडानका लागि सम्पूर्ण कागजात आज जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई बुझाइएकाले उडान सुनिश्चित भएको निगमका एक उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ–जापान उडानका लागि नेपाली समय अनुसार बिहान २ः३० बजे पाएको छ भने जापानबाट १३ः५५ (जापानको समय अनुसार) बजेको उडान पाएको छ। यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो।

निगमले जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नुपर्ने हुन्छ। वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ।
ओसाकापछि नारिता अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि निगमले कागजी प्रक्रिया अघि बढाइसकेको छ। नारिताका लागि पनि साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने योजना बनाइएको छ। काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका–काठमाडौँ उडान समयावधि साढे सात घण्टाको हुनेछ।

निगमले जापान उडानका लागि देशीय निर्देशक ‘कन्ट्री म्यानेजर’, फ्युलिङ, क्यटरिङ, कार्यालय, टिकट काउन्टर, ग्राउण्ड ह्याण्डलिङ, सेक्युरिटीलगायत आवश्यक व्यवस्था गरिसकेको जनाएको छ।
निगमले दशकअघिसम्म जापानको ओसाकामा उडान गर्दै आएको थियो। निगमसँग भएको बोइङल ७५७ मार्फत काठमाडौं–संघाई हुँदै ओसाका विमानस्थल पुग्थ्यो। हप्तामा दुई पटक उडान गर्दै आएको निगमले जहाज अभाव भएको भन्दै २०६४ सालबाट उडान बन्द गरेको थियो। निगमले दुई वटा वाइड बडी जहाज खरिदसँगै गन्तव्य विस्तारको लागि पुनः जापानको ओसाका उडानको तयारी थालेको हो। निगमले दुई वाइडबडी १० महिनाअघि खरिद गरेर ल्याएको छ।
निगमसँग हाल अन्र्तराष्ट्रिय उडान गर्ने २ सय ७४ सिटे दुईथान ‘ए३३०–२००’ वाइड बडी, १ सय ५८ सिटे दुईथान ‘ए३२०–२००’ न्यारो बडी सञ्चालनमा छन्। हाल यी जहाजहरु दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँदिल्ली लगायतका दुरीमा उडिरहेका छन्।