शुक्रबार, बैशाख ०७, २०८१

लामखुट्टे धपाउन बालेको आगोले ६० लाखको क्षति

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ । मलङ्गवा नगरपालिका–१० मुलही पोखरी नजिक स्थानीय शङ्कर गुप्ताले बाख्रा बाँध्ने गोठमा बालेको घुरबाट गएराती आगलागी भएको हो ।

आगलागीमा परी ६ वटा पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा ५९ लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्राईले जानकारी दिनुभयो । आगलागीबाट मलङ्गवा नगरपालिका–१० का राज नारायण ठाकुरको फर्निचर पसलमा सबैभन्दा बढी क्षति पुगेको छ । उहाँको मात्रै २५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही ठाउँका प्रमोद शर्मा ठाकुरको फर्निचर पसल, राज किसुन पण्डितको किराना पसल, पिन्टु यादवको आर्ट पसल र शम्भु ठाकुरको शैलुन पसल जलेर खरानी भएको प्रहरी उपरीक्षक भट्राईले बताउनुभयो । केही बाख्रापाठा समेत जलेर मरेका छन् ।

स्थानीयवासी, सुरक्षाकर्मी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा बिहान ३ बजेतिर आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । सदरमुकाम मलङ्गवा नगरपालिकाको दमकल बिग्रिँदा आगलागी नियन्त्रणमा लिन समय लागेको स्थानीयवासीले बताएका छन् ।

उनीहरुले आगलागी धेरै हुने मौसममा दुई साता अघि बिग्रिएको दमकल अझै मर्मत नभएको भन्दै बिहान केहीबेर नाराबाजी समेत गरेका छन् । मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बिग्रिएको दमकल मर्मतका लागि वीरगञ्ज पठाइएको र केहि दिनमै मर्मत भएर आउने बताउनुभयो ।