बिहिबार, बैशाख ०६, २०८१

मौसम बदली भई देशका विभिन्न भागमा पानी पर्ने सम्भावना

काठमाडौ ।पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएरातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाले जनाएको छ । त्यो प्रणली विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ ।

काठमाडौँ उपत्यकामा आज दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसम बदली हुनेछ । राति देशको पूर्वी र मध्य भूभागमा आंशिक बदली रही पश्चिमी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोली देशका मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्र्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।