शुक्रबार, बैशाख ०७, २०८१

पौने तीन अर्ब लगानी गर्ने चिनियाँ कम्पनीको प्रस्ताव

काठमाडौ । चिनियाँ कम्पनी चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सिएमइसी)ले नेपालको खानेपानी, जलविद्युत्, सडक तथा सुरुङमार्ग निर्माणमा लगानी गर्ने प्रस्ताव दर्ता गरेको छ।

लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सडक तथा सुरुङमार्ग र जलाशययुक्त ७५६ मेगावाटको तमोर हाइड्रोपावर आयोजनामा लगानी ल्याउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पेस गरेको हो।

प्रस्तावमा नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी–सुर्खेत उपत्यका पम्पिङ, दाङको पातुखोला र भक्तपुरको महादेव खोला गरी पाँचवटा खानेपानी आयोजनामा लगानी गर्ने आशय व्यक्त गरिएको छ। सम्भाव्यता अध्ययन भइसकेका यी पाँच आयोजनाको लागत करिब ९० अर्ब रहने अनुमान गरिएको छ।

यी पाँचवटै खानेपानीका आयोजनाबाट करिब ६० लाख जनसंख्या लाभान्वित हुने प्रारम्भिक अध्ययनले देखाएको छ। खानेपानीका यी आयोजनाका विस्तृत परियोजना प्रतिवेदन कम्पनी आफैँले तयार गर्ने, चीन सरकारसँग समन्वय गरी एक्सपोर्ट–इम्पोर्ट ब्यांक अफ चाइनामार्फत नेपाल सरकारलाई सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा दर्ता गराइएको सिएमसीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले बताए।

कम्पनीले सबै आयोजनामा लगानी छिटो जुटाउन इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन एन्ड फाइनान्स (इपिसिएफ) मोडालिटीमा आयोजना अघि बढाउने प्रस्ताव गरेको खतिवडाको भनाइ छ।  नयाँ पत्रिका दैनिकमा खबर छ।