शुक्रबार, बैशाख ०७, २०८१

न्यायाधीशमा पाँच जनाको नाम सिफारिस

काठमाडौ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा पाँच जनाको नाम सिफारिस गरेको छ ।

न्यायाधीश सिफारिस हुनेमा पूर्व महान्यायाधिवक्ता हरि फुयाँल र वरिष्ठ अधिवक्ता कुमार रेग्मी पनि रहेका छन् । केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला फुयाँल महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो । वकिलहरुबाट मनोजकुमार शर्मालाई पनि सर्वोच्चको न्यायाधीश सिफारिस गरिएको छ ।

प्रगतिशील खेमाबाट फुयाँल र शर्मा तथा लोकतान्त्रिक खेमाबाट रेग्मी सिफारिस हुनुभएको हो । यस्तै उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको छ ।

यस्तै, न्याय परिषद्ले उच्च अदालतमा रिक्त पदका लागि १७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले पूर्व अतिरिक्त न्यायाधीश, जिल्ला न्यायाधीश, न्याय समूह,कानुन समूह र कानुन व्यवसायीलाई समेट्दै नाम सिफारिस गरेको हो ।