बिहिबार, बैशाख १३, २०८१

बारामा हावाहुरीको बितण्डा : ३० भन्दा बढीको मृत्यु, सडक अबरुद्ध, उद्धारकार्य जारी

काठमाडौँ । बारामा आएको हावाहुरीबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ। हावाहुरीको विपत्तिमा परी धेरै मानिसहरु च्याप्पिएको र हराएका कारण पनि मृतक र घाईतेको संख्या बढ्न सक्ने बारा प्रहरी प्रमुख एसपी सानुकुमार भट्टराईले डिसी नेपाललाई बताएका छन्।

हावाहुरीले मच्चाएको बितण्डमा परी बारा र पर्सामा ५० जनाको मृत्यु भएका अपुष्ट खबरहरु आएका छन्। यसअघि प्रधानमन्त्री केपी ओलीले २५ जनाको मृत्यु भएको र ४ सय घाइते भएको ट्वीटरमाफर्त जानकारी दिएका थिए।

प्रधानमन्त्री ओलीले अर्को ट्वीट गर्दै उद्धार गर्न विमानस्थलमा नाइटभिजन हेलिकोप्टर अलर्ट राखिएको बताएका छन् । उनले मौसममा सुधार भए तत्कालन उद्धारका लागि नाइटभिजन हेलिकोप्टर । जाने बताएका छन् । उनले उद्धारमा खटिन सिंगो पार्टी पँक्तिलाई पनि निर्देशन दिएका छन् ।

बारा र पर्साका सबै अस्पतालहरु घाइतेले भरिएका छन्। उपचारमा रगतको निकै कमी भएकाले राती नै सुरक्षाकर्मीले रक्तदान कार्यक्रम आयोजना गरेका छन्।

बारा र पर्सा प्रहरीले भने ७ जनाको शव फेला परेको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुकुमार भट्टराईले बाराको कैलया अस्पतालमा ४ जनाको शव राखिएको बताए । उनले क्षतिको पूर्ण विवरण आइन नसकेको भन्दै मृतकको संख्या पनि बढ्ने सक्ने डिसीनेपाललाई बताए। बाराको दक्षिणी क्षेत्र फेटा पुरैना गाउँपाकिलामा हावाहुरीले व्यापाक क्षति पुर्याएको छ।

एसपी भट्टराईले घाइतेहरु र मृतकहरुको शव संकलनमा प्रहरी सक्रिय भएको जानकारी दिए । उनले प्रहरी राहत तथा उद्धारमा खटिएको जानकारी दिए । उता जिल्ला प्रहरी कार्यालय पर्साका रेवती ढकालले पर्सामा हालसम्म ३ वटा शव फेला परेको बताए । उनले ४०० भन्दा बढी घाइते भएको बताएका छन्।

हावाहुरीले विद्युतका पोल ढेलेका छन् भने पर्खालहरु पनि भत्केका छन् । यस्तै घरका छानासमेत भत्केका छन् । यी ढलेका पोल र पर्खालमा च्यापिएर मानवीय क्षति भएको प्रहरीले जनाएको छ । अहिले बाराका धेरै क्षेत्रमा सडक बिग्रिएका कारण सवारी साधन ठप्प छन्। अस्पताल घाईतेले खचाखच भरिएका छन्।