बिहिबार, चैत १५, २०८०

लगानी सम्मेलन : पन्ध्र परियोजनामा लगानीको घोषणा

काठमाडौँ। अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही सम्मेलनका क्रममा पहिलो संयुक्त सम्झौताका रुपमा चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी भएको छ ।

सो समझदारीपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सर्राफ ग्रुपका कार्यकारी निर्देशक सलाह सर्राफले हस्ताक्षर गर्नुभयो । नेपालमा ६०० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी भयो । उक्त समझदारीमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र स्काई पावरका प्रमुख कार्यकारी अधिकृत केरी एल्डरबीच सम्झौतापत्रमा हस्ताक्षर भयो ।

सिजी लाइफ र टर्कीमा मुख्यालय रहेको मोबाइल सेवा प्रदायक कम्पनी टुर्क सेलबीच पाँचै पुस्ताको मोबाइल नेटवर्क नेपालमा विस्तार गर्ने समझदारी भएको छ । सो समझदारीमा सिजी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र टुर्कसेलका व्यापार प्रमुख एनसिजेट मुराट इर्किनीले हस्ताक्षर गर्नुभयो ।

प्रदेश नं २ मा सौर्य ऊर्जा प्रणाली जडान गर्नका लागि मुख्यमन्त्री लालबाबु राउत र सिजी इन्फ्रास्ट्रक्चरका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गर्नुभयो । कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा प्रवद्र्धक सतलज विद्युत् निगमका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इण्डियाका सहायक प्रबन्धक सरोती विनोद कुमार, एभरेष्ट बैंक नायब महाप्रबन्धक गिरिश कोइली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो । उक्त आयोजनामा स्टेट बैंक अफ इण्डियाको रु छ हजार ५६० करोड, एभरेष्ट बैंकको रु ८१२.६१ करोड र नबिल बैंकको रु ४८७.५८ करोड लगानी गर्ने भएको छ ।

कूल १६४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न हाइड्रो सोलुसन ग्रुप र हुनान सिन्ह्वा वाटर कन्जरभेसन हाइड्रो पावरबीच सम्झौता भएको छ । उक्त सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र हुनान सिन्ह्वाको अन्तर्राष्ट्रिय व्यापार प्रमुख झू झेन्ज छेनले हस्ताक्षर गर्नुभयो ।

लगानी बोर्ड नेपाल र अन्तर्राष्ट्रिय मुद्रा कोष(आएमएफ)बीच सिमरा विशेष आर्थिक क्षेत्र निर्माणसम्बन्धी समझदारी भयो । सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण गर्न सामझदारी भएको हो । सो समझदारीपत्रमा नेपालका तर्फबाट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी तथा विशेष आर्थिक क्षेत्र (सिमरा) का प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आएमएफका नेपाल, भूटान तथा बङ्गलादेश हेर्ने क्षेत्रीय व्यवस्थापक वेण्डी विमर तथा वरिष्ठ लगानी अधिकृत पङ्कज सिन्हाले हस्ताक्षर गर्नुभयो ।

बनेपा हिमालय बुटिक भिलेज रिसोर्ट प्रालि निर्माणका लागि उक्त कम्पनीका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङ प्रालिका प्रबन्ध निर्देशक एड्डी सियाबीच हस्ताक्षर भएको छ । त्यसैगरी गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु १० अर्ब बराबरको लगानी गर्ने समझदारीपत्रमा एनआरएनएका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहबीच समझदारी भएको छ । उक्त रकम पूर्वाधार विकासमा खर्च गरिने एनआरएनले जनाएको छ ।

नेशनल कोल्याटरल म्यानेजमेन्ट र नेपाल वेयर हाउस कम्पनी लिमिटेडबीच हरित भण्डारगृह निर्माण गर्नेसम्बन्धी समझदारीमा कम्पनीका प्रबन्ध निर्देशक आनन्दा बगिरा र केल्याटरल म्यानेजमेन्टका उपप्रमुख कार्यकारी अधिकृत अनुपम कौशिकबीच हस्ताक्षर भयो ।

पूर्वाधार विकास सहकार्यका लागि नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्माको लाइसेन्स कन्ट्र्याक्टर एशोसिएशन (एमएलसिए) बीच समझदारी भएको छ । महासङ्घका अध्यक्ष रवी सिंह र एमएलसिएका अध्यक्ष उक्या विनले सो समझदारीमा हस्ताक्षर गर्नुभयो ।

त्यसैगरी २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना निर्माणका लागि कोरियाली प्रवद्र्धक कोसेपले ६५० मिलियन डलर बराबरको लगानी प्रतिबद्धता गरेको छ । आगामी असोजबाट आयोजनाको निर्माण गरिने कोसेपका उपाध्यक्ष हाक विक किमले बताउनुभयो । भारतको मुथोड फाइनान्सले युनाइटेड फाइनान्स लिमिटेडलाई ३९ करोड ९० लाख लगानी गर्ने घोषणा गरेको छ । सोसम्बन्धी घोषणामा नेपालका लागि मुथोड ग्रुपका निर्देशक अनिल कार्कीले जानकारी गराउनुभयो ।

लगानी बोर्ड नेपाल र दक्षिण अफ्रिकाको लगानी बोर्डबीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र दक्षिण अफ्रिका लगानी बोर्डका निमित्त प्रमुख युनुश हुसैनले हस्ताक्षर गर्नुभयो ।

अपी पावर कम्पनी नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच १८ मेगावाट क्षमताको सौर्य परियोजना, ९८ मेगावाटको जलविद्युत् परियोजना र १० मेगावाट क्षमताका वायु ऊर्जा उत्पादनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतामा अपी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपाने र कडेल ग्रुपका अध्यक्ष राजेन कँडेलले सम्झौतामा हस्ताक्षर गर्नुभयो । यस्तै डोल्मो हिमालय इनर्जीले पनि लगानीको घोषणा गरेको छ ।रासस