शुक्रबार, चैत १६, २०८०

लगानी सम्मेलनः नेपाल लगानीका लागि उपयुक्त स्थान

सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ ।

आजदेखि यहाँ शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा सहज वातावरण बनेको, तीनवटै तहका सरकारसमेत गठन भएको उल्लेख गर्दै प्रक्रियागत तथा संस्थागत सुधार एवं अन्य संरचनासमेत नयाँ बनाइएकाले पनि नेपाल लगानीयोग्य राष्ट्र बनेको बताउनुभयो ।

नेपालले नयाँ यात्रा शुरु गरेको भन्दै घरेलु तथा बाह्य लगानीकर्तालाईसमेत सहज एवं सरल वातावरण बनेको उहाँको भनाइ थियो । सहज करका दर तयार पारिएको, लगानीकर्ताको हितलाई ध्यानमा राखेर हालै मात्र नयाँ कानून तयार गरिएको, चीन र भारत जस्ता ठूला देशकोबीचमा रहेका कारण पनि ठूलो बजारको सम्भावना भएको भन्दै उहाँले लगानी गरी उच्च प्रतिफल हासिल गर्न आग्रह गर्नुभयो ।

विदेशी लगानीकर्ताले जुन क्षेत्रमा लगानी गर्न चाहन्छन्, सोही क्षेत्र उपलब्ध गराउन आफू तयार रहेको भन्दै अर्थमन्त्री डा खतिवडाले स्थायी सरकार, नीतिगत तथा संरचनागत सुधार गरी लगानीकर्तालाई सहज वातावरण बनाइएका कारण नेपाल लगानीका लागि योग्य रहेको दोहो¥याउनुभयो ।

एशियाली विकास बैंकका उपाध्यक्ष क्षसिजिन चेनले ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गरेको जानकारी दिँदै थप लगानीका लागि समेत रणनीति तयार गरिएको बताउनुभयो ।

उहाँले मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरेको र ती आयोजना सम्पन्न हुने चरणमा पुगेको भन्दै अन्य ठूला लगानीका क्षेत्रमा समेत सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

उहाँले दीर्घकालीन लगानीको सोच बनाएको र कृषि तथा मझौला लगानीका क्षेत्रमा समेत इच्छुक रहेको बताउनुभयो । नेपाल यतिखेर आर्थिक विकासको मार्गमा अगाडि बढेको उल्लेख गर्दै उहाँले बैंकले नेपाल सरकारको नीतिलाई सहयोग गर्दै लगानी गरेको स्पष्ट पार्नुभयो ।

विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सङ्कल्पलाई पूरा गर्ने गरी लगानी गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले पछिल्ला दिनमा नेपाल सरकारले सुधार गरेका कानूनी संरचनाका कारण थप लगानीयोग्य वातावरण बनेको उहाँको भनाइ थियो ।

सरकारसँगै निजी क्षेत्रले समेत सकारात्मक रुपमा लगानी गर्नसक्ने वातावरण बनेको भन्दै उहाँले निजी क्षेत्रमासमेत लगानी गर्न आफूहरु इच्छुक रहेको बताउनुभयो । ऊर्जाको क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको भन्दै उहाँले दीर्घकालीन लगानीका लागि समेत आफू इच्छुक रहेको बताउनुभयो ।

नेपाल दुई ठूला आर्थिक रुपमाशक्ति सम्पन्नहुँदै आएका देशको बीचमा रहेका कारण पनि लगानीका लागि थप उपयुक्त रहेको बताउनुभयो । विश्व बैंकले नेपाललाई विगत ५० वर्षदेखि लगानीगर्दै आएको र यतिखेर पनि धेरै परियोजनामा लगानीगर्दै आएको उहाँको भनाइ थियो ।

सम्मेलनमा म्यान्माका लगानी तथा विदेश आर्थिक सम्बन्धीमन्त्री यू थाउङ टुनले दक्षिण एशियामा पछिल्लो समयमा आर्थिक वृद्धि दर उल्लेख्य रुपमा बढ्दै गएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सफलता हासिल गर्दै आएको बताउनुभयो ।

नेपालले बहुपक्षीय क्षेत्रमा क्रमशः सुधार गर्दै गएका कारण गरीबी निवारण, व्यापार अभिवृद्धि, वैदेशिक लगानीमा वृद्धि हुँदै आएको उल्लेख गर्दै उहाँले कृषिमा आधारित अर्थतन्त्रलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । म्यान्मा जस्तै नेपाल पनि प्राकृतिक स्रोत र साधनले धनी रहेको भन्दै उहाँले बढी उत्पादकत्व भएको जमीन तथा काम गर्नसक्ने युवाजनशक्ति रहेको बताउनुभयो ।

सम्मेलनलाई सम्बोधनगर्दै मुथुट समूहका अध्यक्ष एमजीजर्ज मुथुटले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको उल्लेख गर्नुभयो ।

सरकारले लगानी भित्र्याउनका लागि प्रतिबद्धता जनाएको बताउँदै उहाँले आर्थिकरुपमा बलियो बन्ने प्रयास गरिरहेको समेत बताउनुभयो । लामो समयपछि आएको दिगो सरकारले लगानी भित्र्याउनका लागि सम्मेलन गरिरहेको भन्दै उहाँले यो सम्मेलनले पनि नेपाल आर्थिकरुपमा बलियो बन्न प्रयत्न गरिरहेको बलियो प्रमाण दिएको टिप्पणी गर्नुभयो ।

सम्मेलनलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री डा रामशरण महतले विसं २०४६ को परिवर्तनपछि नेपालमा निजी क्षेत्रलाई लगानीका लागि अभिप्रेरित गरिएको तथ्य पेश गर्दै पछिल्लो दिनमा निजी क्षेत्रले हवाई, दुरसञ्चार तथा ऊर्जा क्षेत्रमा ठूलो सफलता हासिल गरेको बताउनुभयो ।

नेपालले विगतका दुई दशकमा राजनीतिक अस्थिरता, भूकम्प जस्ता ठूलो समस्या भोगेको उल्लेख गर्दै ती समस्याबाट बाहिर निस्केर नेपाल अहिले नयाँ स्थानमा आइपुगेको उल्लेख गर्नुभयो ।

मानवविकास सूचाङ्कमा समेत नेपालले लगातार सफलता हासिलगर्दै आएको उद्धृत गर्दै पूर्वअर्थमन्त्री डा महतले यतिखेर नेपाल केवल १५ प्रतिशतमात्रै गरिबीको रेखामुनी रहेको बताउनुभयो । गरीबी निवारणमा नेपालले नेतृत्व गरेको र दक्षिण एशियामा नै अग्रस्थानमा रहेको तथ्य पेश गर्दै उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषणले पनि गरीबी निवारणमा सहयोग गरेको छ भन्नुभयो ।

आर्थिक विकासका लागि यतिखेर नै महत्वपूर्ण अवसर भएको भन्दै उहाँले स्वदेशी लगानीले मात्रै धेरै क्षेत्रमा प्रगति गर्न नसकिएकाले विदेशी लगानी जरुरी रहेको बताउनुभयो ।

सम्मेलनमा दर्जनाँै भौतिक पूर्वाधारसँग जोडिएका परियोजना प्रस्तुत गरिएको जानकारी दिँदै उहाँले धेरै क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । नेपालमा कडा परिश्रम गर्नसक्ने जनशक्ति रहेको र अन्तर्राष्टिय क्षेत्रमा समेत नेपालीले ख्याती कमाएको भन्दै उहाँले नेपाल स्वच्छ ऊर्जाको पावरहाउस रहेको बताउनुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रमा ऊर्जा आदानप्रदानका लागि सहमति भएको, बङ्गलादेशसँग पनि सहमति भएको तथ्य पेश गर्दै उहाँले नेपालमा कृषि, जडीबुटी, उच्च मूल्यप्राप्त हुनसक्ने खेतीसमेत गर्न सकिने स्पष्ट पार्नुभयो ।
सम्मेलनका क्रममा आज नै नेपालमा लगानीको अवसर विषयमा छलफल हुनेछ । बोर्डले तयार पारेको कार्यतालिका अनुसार ‘ऊर्जा र सूचना तथा प्रविधि’विषयक छलफल र व्यवसायमा महिला र युवा उद्यमशीलताको विकासका विषयमा समेत छलफल हुनेछ ।

शनिबारसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ । सम्मेलनलाई नै ध्यानमा राखेर सरकारले हालै सङ्घीय संसद्बाट ‘सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’पारित गर्नुका साथै ‘विशेष आर्थिक क्षेत्रसम्बन्धी ऐन’ समेत संशोधन गरिसकेको छ ।

सम्मेलनमा रु ६४ करोडदेखि रु तीनखर्ब ५० अर्बसम्मका परियोजना प्रस्तुत हुनेछन् । मुलुकको समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी आठ ठूला परियोजना पनि छनोट गरिएको छ । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्तआयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाका रुपमा राखिएको छ । बोर्डका अनुसार रु ३१ खर्ब बराबरको परियोजनाको सूचीतयार गरिएको छ

सम्मेलनमा नेपाल सरकारका मन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, लगानीकर्ता, गैरआवासीय नेपाली, निजी क्षेत्रलगायतको सहभागिता रहेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा उत्साहपूर्ण सहभागिता जनाउनुभएका प्रधानमन्त्रीलगायत स्वदेशी तथा विदेशी लगानीकर्ता र सम्मेलनलाई सफल पार्न सहयोग पु¥याउनुहुने सबैलाई धन्यवाद दिनुभयो ।