बिहिबार, बैशाख १३, २०८१

बालविवाह रोक्न सामुहिक प्रतिवद्धता

लमजुङ । लमजुङका सरोकारवाला निकायका प्रतिनिधीहरुले जिल्लामा बालविवाह रोक्ने सामुहिक प्रतिवद्धता जनाएका छन् ।

सदरमुकाम बेसीशहरमा आयोजना गरिएको बालविवाह अन्त्यका लागि सरोकारवालाको भूमीका विषयक छलफल कार्यक्रममा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधीले बालबिबाह अन्त्यका लागि सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सहभागीले कसैले बालविवाह गर्दैछन् भन्ने जानकारी पाए आफूले रोक्ने प्रतिबद्धता जनाए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद धनन्जय दवाडीले समाजमा विद्यमान बालविवाह अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले घरबाट नै ‘बालविवाह गर्नु अपराध हो’ भन्ने सोचको विकास भएमात्र बालविवाह रोक्न सकिने बताउनुभयो ।

सानै उमेरमा विवाह हुँदा शारीरिक र मानसिक रूपमा समस्या आउने भएकाले बाल विवाह कडाईका साथ रोक्नुपर्ने उहाँको भनाइ छ । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र सामाजिक अगुवाहरुकाबीच उचित समन्वय गरेर अघि बढेमात्र बालविवाह रोक्न सकिने बताउनुभयो ।

अर्यालले बाल विवाहको नकारात्मक असरका बारे जानकारी दिई आफ्नो घर, टोल, समाजमा बालविवाह हुन लागेको छ वा छैन भन्ने विषयमा चासो राख्ने र हुन लागेको जानकारी पाएको खण्डमा बाल विवाह रोक्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले नेपालको कानुन अनुसार २० बर्षमा मात्रै बिवाह गर्न पाउने भएको हुँदा कानुन विपरित विवाह गरेमा दण्डनिय हुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख यादव ढकालले बालविवाह रोक्ने कार्य प्रहरीले एक्लै गर्न नसक्ने भन्दै त्यसमा विद्यार्थी, बालक्लब, अभिभावक र अन्य गैरसरकारी निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका कृष्णप्रसाद अधिकारी र नेपाली कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेलले सामाजिक कुरिती, आर्थिक अभाव र चेतनाको कमीका कारण बालविवाह हुने गरेको भन्दै यस बारेमा चनाखो हुन सबैसंग आग्रह गर्नुभयो ।

बालविवाहले महिला शारीरिक र मानसिक रुपमा कमजोर हुने भएकाले बालविवाह विरुद्धको अभियान सुरू गरिएको सीआईएनका प्रमुख दिपक आचार्यले बताउनुभयो । ‘नेपाली जुटौँ, बाल विवाह रोकौँ’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम वल्र्डभिजन इन्टरनेसनल, सामुदायीक सूचना नेटवर्क (सीआईएन)को आयोजना र रेडियो लमजुङको समन्वयमा भएको हो ।