शुक्रबार, चैत १६, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापना

काठमाडौं । गैरआवासिय नेपाली संघ (एनआरएन) ले लामो समयदेखि उठाउँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एनआरएन हेल्प डेस्क स्थापना भएको छ ।
एनआरएनको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सम्बोधन गर्दै बिमानस्थलमा हेल्प डेस्क स्थापना गरेको हो ।

एनआरएनले बिमानस्थलमा हेल्प डेस्क स्थापनाका लागि उपाध्यक्ष कुल आचार्यलाई जिम्मेवारी दिएको थियो । आचार्यले पहलकदमी लिएपछि लामो समयदेखि मागका रुपमा रहेको बिषय पूरा भएको हो ।

‘हामीले लामो समयदेखि माग गरे अनुरुप आज नेपालको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एनआरएन डेस्क स्थापना भएको छ,यो अत्यन्तै खुसीको कुरा हो,’ उपाध्यक्ष आचार्यले भन्नुभयो । उहाँका अनुसार गत जनवरी महिनामा बेलायतको अध्यागमन प्रणालीको अध्ययन भ्रमणमा गएको बेला अध्यागमन विभागका प्रमुख इश्वरराज पौडेल लगायतका अधिकृतहरुसंग गरिएको अन्तर्कृयामा यो विषय उठेको थियो ।

एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, महासचिव आरके त्रिपाठी लगाएतका अगुवाले अध्यागमन विभागका प्रमुखलाई लन्डनमा ज्ञापनपत्र नै बुझाउनु भएको थियो । त्यस्तै हालै अध्यक्ष भवन भट्टले गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखी एनआरएन हेल्प डेस्क स्थापनाका लागि अनुरोध गर्नुभएको थियो ।

यी सबै काममा समन्वय आचार्यले नै गर्नुभएको थियो । उपाध्यक्ष आचार्यले हेल्प डेस्क स्थापनासँगै सवै एनआरएनकर्मीलाई बधाई र सरकारलाई धन्यवाद दिनुभएको छ ।