शुक्रबार, बैशाख ०७, २०८१

शिक्षा आयोगको प्रतिवेदन सिफारिस मात्र हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १ माघ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सिफारिस मात्र रहेको सरकारका प्रधानमन्त्री केपी ओलीले बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न एक कार्यक्रमका विच प्रतिवेदन ग्रहण गर्दै ओलीले उक्त कुरा बताएका हुन् । आयोगका अध्यक्ष समेत रहेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उक्त प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा शिक्षान्त्री पोखरेलले आयोगले तोकिएको ५ महिना ७ दिनको समयावधिभित्र कार्ययोजना निर्माण, विषयगत समूह गठन एवम् परिचालन, विज्ञहरूसँग परामर्श, सन्दर्भ ग्रन्थको अध्ययन, सरोकारवालाहरूसँग सुझाव संकलन, प्रादेशिक तहमा अन्तरकृया, राष्ट्रिय सम्मेलन लगायतका महत्वपूर्ण कार्यप्रकृया अवलम्बन गरी व्यापक छलफल र बहसका आधारमा आफ्नो प्रतिवेदन तयार पारेको बताएका छन् ।

प्रतिवेदन बुझेपश्चात् प्रधानमन्त्री केपी ओलीले उक्त प्रतिवेदन सिफारिस मात्र भएकोले निजी विद्यालय बन्दको परिकल्पना नगरी गैह्रनाफामूलक बनाउनुपर्ने बताएका छन् । निजी विद्यालयलाई बन्द गर्दा सबै बालबालिकालाई सरकारले मात्रै पढाउने क्षमता नराख्ने र निजी विद्यालय नपढी विदेशबाट प्राप्त छात्रवृत्तिमा जाने विद्यार्थी समेत नहुने ओलीले बताए ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्यहरुमा पूर्वमन्त्री डा. गंगालाल तुलाधर, पूर्वमन्त्री धनिराम पौडेल, डा. उषा झा, खगराज बराल, श्यामकुमार श्रेष्ठ, प्रा. डा. मीन बहादुर विष्ट, प्रा. डा. विद्यानाथ कोइराला, प्रा.डा. टंकनाथ शर्मा, प्रा.डा. मनिष पोखरेल, प्रा.डा. रामस्वार्थ राय, डा. सुसन आचार्य, डा. बाबुराम अधिकारी, प्रा.डा. शारदा थपलिया, विमल कुमार फुँयाल, चव्रmमान विश्वकर्मा, प्रा.डा. सुजनबाबु मरहट्टा, नन्दकुमार थापा, डा. कृष्णप्रसाद पौडेल, प्रा. भारती जोशी, रमेशकुमार सिलवाल, लक्ष्मण शर्मा, डा. सदानन्द कँडेल तथा आमन्त्रीत सदस्य श्री बाबुराम थापा र सदस्य सचिव बैकुण्ठप्रसाद अर्याल रहेका थिए ।