शुक्रबार, बैशाख ०७, २०८१

माघे संक्रान्ति अवसरमा प्रधानमन्त्री ओलीको सन्देश : सांस्कृतिक विविधतामा एकता

काठमाडौं,१ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ ।

माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको बताउनुभएको छ ।

‘सबै जात र समुदायको सहभागितामा निर्माण गरी जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी ‘समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौँ’ विज्ञप्तिमा भनिएको छ ।
P
अभियानलाई सफल पार्न सरकार र सबै सङ्घसंस्था तथा समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको विज्ञप्तिमा विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेको ती पर्वले सबैको घरमा सुख र शान्तिको अनुभूति गराउन सकोस् भन्ने शुभेच्छा प्रकट गरिएको छ ।
सम्पूर्ण नेपालीको बीचमा यस पर्वले बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ ।

सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको उल्लेख गरिएको विज्ञप्तिमा हाम्रा यस प्रकारका चाडपर्व पर्यटकीय आकर्षणका लागि पनि प्रभावकारी हुने जनाइएको छ ।