शनिबार, बैशाख ०८, २०८१

कर बृद्धि विरुद्ध तमुवान-मगरातको पोखरामा प्रर्दशन

हुम तमु,पोखरा । पहिचान, अधिकार र स्वाभिमानका लागि आन्दोलनरत तमुवान–मगराँत संघर्ष समितिले कर बृद्धि विरुद्ध पोखरामा बृहत जनप्रर्दशन गरेको छ। पोखरा चिप्लेढुंगा मानवअधिकारचोकबाट शुरु भएको कर बृद्धि विरुद्धको र्याली विपीचोक, न्युरोड हुदै पोखरा महानगरपालिकामा पुगी संघर्ष समितिकी संयोजक कर्म तमुले कर बृद्धि तुरुन्त खारेज गर्न माग गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ज्ञापन पत्र बुझाउनुभयो।

ज्ञापनपत्रमा जनतालाई जबरजस्त कर लादेर जननिर्वाचित प्रतिनीधि÷नेताहरु तलब, भत्ता, सेवा सुविधा र भ्रमणमा रमाईरहेको आरोप लगाउदै जननिर्वाचितहरुलाई तलब भत्ता छोड, कर फ्रि पोखरा महनगरपालिका बनाउ भन्ने माग गरिएको छ। बृद्धि गरेको कर र शुल्क तुरुन्त खारेज नगरे संघर्ष समितिले अवज्ञा आन्दोलन शुरु गरिने चेतावनी समेत दिएको छ।

घर घरमा सिंहदरबारको नारा दिने तर नागरिकलाई सेवा सुविधा बृद्धि, घर घरमा विकास पुर्याउनुको सट्टा करको भारी बोकाउन स्थानियदेखि संघीय सरकार लागिपर्दै समृद्ध नेपाल र स्मार्ट सिटीका कुरा गर्नेहरुलाई ज्ञापनपत्र मार्फत होशियारी गरिएको छ। नागरिकलाई दोहोरो तेहेरो करको भार, त्यसैमाथि सयौं प्रतिशत कर र सेवा शुल्क बृद्धिसँगै महंगी आकाशिदै जाँदा जनता अत्यन्त मारमा परेको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाली जनताको पटक पटकको लामो आन्दोलन पछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भए पनि संघीयताको मर्म र लोकतान्त्रिक मान्यतालाई अपमान गर्दै जननिर्वाचितहरु सेवक बन्नुको बदला कर्मचारी जस्तो बन्दै तलब भत्ता, सेवा सुविधा, भ्रमणमा मस्त रहेको भन्दै संघर्ष समितिले आपत्ति जनाएको छ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिसीले करका बारेमा महानगरले समिति गठन गरी के कसो भएको बुझ्ने कार्य भएको रहेको भन्दै ज्ञापनपत्रका बारेमा आफु सकारात्मक रहेको बताउनुभयो।
पोखरा महानगरपालिका अगाडि भएको कर बृद्धि विरोध सभामा तमुवान—मगराँत संघर्ष समितिकी संयोजक कर्म तमुले जनतामारा कर बृद्धि खारेज नगरे जनताले फ्रान्सेली क्रान्ति गर्ने चेतावनी दिनुभयो।रेडलाइट क्षेत्र बनाउने समृद्धि पोखरेलीले नचाहेको भन्दै उहाँले प्रदेश मुख्य मन्त्रीको अभिव्यक्तिको चर्को आलोचना गर्नुभयो।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले बृद्धि गरिएको कर तिर्न जनता सक्षम नभएकाले महानगरपालिकाले तत्काल खारेज गर्नुपर्नेमा जोड दिनुहुदै कर बृद्धि विरुद्धको आन्दोलनमा पोखरेली उद्योग व्यवसायीहरुको तर्फबाट ऐक्यवद्धता व्यक्त गर्नुभयो।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले बृद्धि गरिएको कर तत्काल खारेज गर्न माग गर्नुहुदै जनतालाई आहात होइन राहत महसुस गराउन स्थानिय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्नुभयो।

तमुवान—मगराँत संघर्ष समितिका प्रवक्ता हुमबहादुर तमुले जननिर्वाचितहरुका तलब, भत्ता, सेवा, सुविधा, भ्रमणका लागि जनतालाई कर थोपरेर कस्तो स्मार्ट सिटी, समृद्ध नेपाल बनाउन खोजेको हो प्रश्न गर्नुभयो। सेवा सुविधा बापत कर लिने हो तर स्थानीयदेखि संघीय सरकारले संघीयतालाई असफल बनाउन जनतालाई कर लादेको उहाँको आरोप थियो। करका लागि रेडलाइट एरियाको बनाउन खोज्ने नेताहरुलाई धिक्र्कानुभयो।

संघर्ष समितिका सचिव आसबहादुर तमुले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रममा कस्केली आदिवासी जनजातिहरु व्यानर, मौलिक पोशाकमा बृहत सहभागतिा रहेको थियो । सहभागीहरुले बृद्धि गरेको कर खारेज गर, तलव भत्ता नेतालाई करको मार जनतालाई, कर बढाउन पाइदैन संघीयता मास्न पाइदैन, तमुवान मगरात प्रदेश जिन्दावाद लगायतका नारा लगाएका थिए।