शनिबार, बैशाख ०८, २०८१

नालायक नेतृत्वले समस्या भयो : आईजीपी खनाल

कञ्चनपुर,२३ भदौ ।  निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीको भूमिकालाई लिएर स्थानीयले आक्रोश पोखेका छन् । स्थानीयको आक्रोशपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भनेका छन् – तत्कालीन प्रहरी प्रमुख (एसपी) लाई निलम्वन गरिसकिएको छ, यदि उ दोषी भयो भने निलम्वन मात्रै होइन, नोकरीबाट समेत बर्खास्त गर्छु ।’

राष्ट्रिय मानवअधिकार आयोगले महेन्द्रनगरमा आयोजना गरेको ‘महिला हिंसा न्यूनीकरण, मानवअधिकारको संरक्षण एवं सुरक्षा: नेपाल प्रहरीको जवाफदेहीता’ बिषयक गोष्ठीमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल समेत उपस्थित थिए । सो कार्यक्रममा सहभागीहरुले लामो समयसम्म दोषी पत्ता लगाउन नसकेको र स्थानीयबासीलाई अनावश्यक यातना दिएको भन्दै प्रहरी नेतृत्वको कडा आलोचना गरे।

महिला अधिकारकर्मी शारदा चन्दले उक्त घटनाको प्रमाण प्रहरी स्वयंले नष्ट गरेको आरोप लगाइन् । ‘हामीले पटक-पटक घटनाको बिषयका कुरा गर्दासमेत प्रहरीले सुनेन्’ चन्दले भनिन्, ‘यसको जिम्मेवारी प्रहरीले लिनुपर्छ ।’

अर्की महिला अधिकारकर्मी मीना भण्डारीले अनुसन्धानमा लापरवाही गर्ने प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई कारवाही गर्न माग गरिन् ।

अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष प्रेमवती रानाले प्रहरीले आफुहरुसँग समेत अपशव्द बोलेको आरोप लगाइन् ।