शुक्रबार, चैत १६, २०८०

छुटेका र चित्त नबुझेका भूकम्पपीडितलाई पुन: ३५ दिनभित्र सम्पर्क गर्न आग्रह

काठमाडौं,२ असार । घर भत्किएर पनि लाभग्राहीको सूचीमा नपरेको गुनासोपछि प्राधिकरणले त्यस्ता पीडितहरुलाई गुनासो गर्न समय दिएको थियो ।

आवास अनुदान पाउनबाट बञ्चित १२ जिल्लाका १८ हजार ५ सय ७८ भूकम्पपीडित परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा समेटेको छ ।

प्राधिकरणले दिएको समयसीमामा भूकम्पपीडित जिल्लाहरुबाट २५ हजार ३ सय २४ गुनासो संकलन भएको थियो । तिनै गुनासोमध्येबाट १८ हजार ५ सय ७८ भूकम्पपीडितलाई आवास अनुदान दिने निर्णय प्राधिकरणले गरेको हो ।

प्राधिकरणका अनुसार ६ हजार ७ सय ३६ पीडितले दिएको निवेदन भने फेरि पनि अस्वीकृत भएको छ ।

प्राधिकरणका अनुसार सिन्धुपाल्चोकका १२ र काठमाडौंका १० स्थानीय तहका पीडित यसपटक समेटिएका छन् । रामेछापको भने मन्थली नगरपालिकाका पीडित मात्र लाभग्राहीको सूचीमा परेका छन् ।

त्यसैगरी, धादिङका ४, दोलखाका २, काभ्रेपलाञ्चोकका २ स्थानीय तहका पीडितहरु पनि लाभग्राहीको सूचीमा परेका छन् । ओखलढुंगाका ३, गोरखाका ५ नुवाकोटका २, भक्तपुरका ४ र ललितपुरका ४ स्थानीय तहका केही पीडितले पनि अब अनुदान पाउने भएका छन् ।

प्राधिकरणले लाभग्राहीको सूची स्थानीय तहमा पठाएको र अनुदानका लागि सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नसमेत सूचित गरेको छ ।

प्राधिकरणको पछिल्लो छानबिनमा चित्त नबुझेका र यसअघि गुनासो गर्न छुटेकाहरुलाई पुनः अवसर दिने भएको छ । उसले छुटेका र नतिजामा चित्त नबुझेका गैरलाभग्राहीहरुलाई ३५ दिनभित्र जिल्ला आयोजना कार्यान्वयन इकाइमा सम्पर्क राख्न भनेको छ ।