बिहिबार, बैशाख ०६, २०८१

राजनीतिक चुनौतिलाई सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त : नेता सिंह

काठमाडौं,१९ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतिलाई सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौं क्षेत्रनम्बर १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता सिंहले भने, ‘अहिलेको चुनौतीलाई सामना गर्न सक्ने क्षमता छ भनेर यदि हामीले आम जनता र आम कार्यकर्ताहरुलाई इम्प्रेसन दिन सकेनौं भने हिस्ट्री जति राम्रो भए पनि यो पार्टी गर्ल्याम गुर्लुम्म जान्छ ।

मुलुकमा ठूला ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको दावी गर्दै उनले अब आर्थिक समृद्धिको अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताए । अहिले कांग्रेस र कम्यनिस्ट आमने सामनेको अवस्थामा रहेको बताउँदै उनले भने, ‘अहिलेको बजेटबाट पनि हामीले के देख्छौं भन्दाखेरि कम्युनिस्टहरु विस्तारै जनवादी केन्द्रियतामा जाने तरखरमा छन् । नजानिँदो किसिमले आफ्ना गतिविधिहरु सुरु गरिसकेका छन् ।’

कम्युनिस्टको सामना गर्नका लागि हरेक निर्वाचन क्षेत्रमा, आम जनतासँग जोडिएर उनीहरुका समस्या समाधान गर्न लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘मेहनत धेरै गर्नुपर्ने हुन्छ । नेताहरु, कार्यकर्ताहरु सबैले मेहनत गर्नुपर्‍यो । हामी एकदम तयार हुनुपर्‍यो । खाली अर्काको आलोचना गरेर कोही पनि अगाडि बढ्न सक्दैन ।’

उनले प्रजातन्त्रलाई कमजोर पारेर, संविधानको मूल मर्म र भावनालाई कमजोर बनाएर जान थाल्ने हो भने कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए । ‘पन्चायत जसतो तानाशाही व्यवस्थालाई त हामीले ३०–३० वर्षसम्म संघर्ष गरेर परिवर्तन ल्यायौं । यदि कुनै पार्टीले आफ्नो बहुमतको बलबाट प्रहार गर्छ भने कांग्रेस चुप लागेर बस्दैन ।
त्यसका लागि सबैभन्दा पहिले पार्टीको केन्द्रिकृत विधानलाई संशोधन गर्नुपर्नेमा सिंहले जोड दिए । कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड थियो ।