शुक्रबार, बैशाख ०७, २०८१

चीनमा १२ जना नेपाली इन्जिनियरले रेल प्राविधिक तालिम लिदैं

काठमाडौं,६ जेठ । नेपाली १२ जना इन्जिनियरको टोलीलाई चीनले रेल प्राविधिक तालिम दिन सुरु गरेको छ ।

रेल विभागमार्फत १२ जना इन्जिनियरको टोली अहिले चीनमा तालिम लिँदैछ । एक हप्ताअघि चीन गएको सो टोली अझै दुई हप्तासम्म चीनमै रहनेछ ।

रेल्वे विभागमा बरिष्ट इन्जिनियर प्रकाशभक्त उपाध्यायकाअनुसार यो टोलीले चीनको रेल्वे विज्ञसँग सैद्दान्तिक, ब्यवहारिक कक्षासँगै स्थलगत अध्ययन गर्दैछ । नेपाल-चीन रेलमार्ग बनाउन प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भइसकेको छ ।

काठमाडौं-केरुङ रेलमार्ग निर्माणका लागि चीनले कम्पनी नै नियुक्त गरेर अध्ययन थालेको छ । नेपाली प्राविधिकसँग ५३ किलोमिटर लामो जनकपुर-जयनगर ‘न्यारो गेज’बाहेक अन्य आधुनिक रेलमार्ग सञ्चालनको अनुभव र दक्षता छैन ।

त्यसैकारण चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसन (एनआरए) ले रेल्वे विभागलाई प्राविधिक तालिमका अफर गरेको थियो । विभागका महानिर्देशक अनन्त आचार्यका अनुसार तीन चरणको तालिमका लागि सहमति भएको छ ।

चीनले केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण गर्न चासो दिएको छ । नेपाली इन्जिनियरहरु रेलका प्राविधिक पाटोमा अभ्यस्त छैनन् । त्यसैले यो तालिम हाम्रा लागि महत्वपूर्ण हुने रेलमार्ग अगाडि बढाउन सहज पनि हुने विश्वास विभागको छ ।

आधारभूतसहित आधुनिक प्रविधिका सबै पाटोबारे नेपाली इन्जिनियरहरुले तालिम पाउने आचार्यको भनाइ छ । बरिष्ठ इन्जिनियर उपाध्याय अब नेपाली इन्जिनियरलाई चीनले लगातार आवश्यक तालिमहरु दिने बताउँछन् ।