शुक्रबार, चैत १६, २०८०

पुनर्निर्माणको जिम्मा धुर्मुस-सुन्तलीलाई दिन पूर्वप्रधानमन्त्री नेपालको प्रस्ताव

काठमाडौं,११ वैशाख । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भूकम्पपछिको पुनर्निर्माणको जिम्मा धुर्मुस-सुन्तलीलाई दिन प्रस्ताव गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’ को विमोचन कार्यक्रममा नेता नेपालले पीडित व्यक्तिहरुलाई पैसा दिएर घर निर्माण गर्नु भन्दा धुर्मुस-सुन्तलीलाई जिम्मा दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्पपीडितलाई अनुदान रकम एकमुष्ट दिनुपर्ने सुझाव दिएपछि नेता नेपालले त्यो भन्दा धुर्मुस(सुन्तलीलाई जिम्मा दिनुपर्ने बताएका हुन् ।

कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेसनले भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माण गरेका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले भने,’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भन्नुभयो, व्यक्तिलाई अनुदानदिनुभन्दा बरु राम्रो के हुन्छ भने धुर्मुस-सुन्तली जस्ता मान्छेहरुलाई जिम्मा दिने, उहाँहरुले धेरै राम्रो काम गर्नुभएको छ ।’

नेता नेपालले जनताले अनुभूति गर्ने गरी पुनर्निर्माण नभएको भन्दै अब राज्यले चासो दिनुपर्ने बताए । उनले पुनर्निर्माणलाई राज्यले नै व्यवस्थित गर्नुपर्ने पनि धारणा राखेका थिए ।