बिहिबार, चैत १५, २०८०

पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडौं,१७ चैत । पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको शुक्रवार निधन भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् ।

उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो ।

उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।

दाङबाट राजनीति गरेका खड्का प्रस्ट बिचार र अडान राख्ने निडर र हठी स्वभावका थिए ।  २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपी कोइरालाको टोलीमा खुमबहादुर खड्का पनि थिए ।

खड्का कहिले कोइराला त कहिले देउवा पक्षमा लागेर शक्तिशाली लाभको पदमा रहिरहे । २०४८ सालमा गिरिजा प्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषदको सदस्यमा खुमबहादुर खड्का र शेरबहादुर देउवा पनि थिए ।

२०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा पनि खुमबहादुर खड्का मन्त्री बने । धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा पर्छन् उनी । ०५८ अघिका प्रायः हरेक सरकारमा उनले प्रभाव जमाइराखे । त्यसैले उनको पछिल्तिर कांग्रेस कार्यकर्ताको एउटा पंक्ति छ । पटकपटक गृहमन्त्री हुँदा उनले थुप्रै कार्यकर्ता र शुभचिन्तकलाई जागिर लगाइदिए ।