शनिबार, बैशाख ०८, २०८१

मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने

म्याग्दी,१३ चैत । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ।

नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन ड्रोनको प्रयोग गरिनेछ। यसमा ८ वटा पंखा र २ वटा पखेटा रहनेछ। २ प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताए। ‘अर्को महिनाको दोस्रो सातासम्म म्याग्दीमा परीक्षण उडान गर्ने तयारीमा छौँ। नियमित उडानका लागि केही समय लाग्छ,’ उनले भने।

पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने बताए। ड्रोनले औषधि लिएर गन्तव्यमा पुगी औषधि छोडेर फर्किनेछ। ल्याबमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र मेकानिकल काम गर्ने युवा व्यस्त रहेका छन्। केन्द्रमार्फत विद्युतीय सवारीसाधन, जलविद्युत् आयोजनाका सोचसमेत बनाइएको छ।

केन्द्रको दिगो विकासका लागि तीन वर्षभित्र १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरी बिक्रीबाट प्राप्त आम्दानीलाई केन्द्रको अनुसन्धानमा प्रयोग गर्ने पुनले बताउँदै आएका छन्।

पुनले केन्द्र स्थापनाका लागि कास्की जिल्ला बेगनास तालको उत्तरपट्टिको ठूलाकोट भन्ने डाँडामा २० वर्ष अगाडि खरिद गरेको २८ रोपनी समेत केन्द्रलाई दान गरेका छन्।