शनिबार, बैशाख ०८, २०८१

आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाए

काठमाडौं,३ फाल्गुन ।  निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ ।

चुनाव भएको ७० दिनपछि बुधवार राती साढे ९  बजे आयोगले अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएको हो। राष्ट्रपतिले प्रतिनिधिसभाको मतपरिणाम बुझेको राष्ट्रपति कार्यालयका भेषराज अधिकारीले जानकारी दिए ।

‘प्रमुख आयुक्त अयोधिप्रसाद यादव सहित सबै  आयुक्तहरु आउनु भएको थियो। प्रमुख आयुक्तले राष्ट्रपति ज्यूलाई मतपरिणाम बुझाउनु भयो।’ उनले भने।

आयोगले दलहरुलाई समानुपातिकको सूची सच्याउन आज साँझ पाँच बजेसम्मको समय दिएको थियो ।

सबै दलले समानुपातिकको सूची दिएपछि आयोग प्रमुख अयोधी प्रसाद यादव सहित सबै आयुक्त र सचिव राष्ट्रपति कार्यालय प्रतिनिधिसभाको मतपरिणाम बुझाउन गएका हुन्। राष्ट्रपति सेनाको कार्यक्रममा गएर फर्किन समय लागेकाले मतपरिणाम बुझाउन केहि समय ढिलो भएको हो।

मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको चुनावबाट ५ दल राष्ट्रिय पार्टी बनेका छन्। जसमध्ये एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ। उसले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ सिट जितेको छ।

समानुपातिकको ४० सहित कांग्रेसले ६३ सिट ल्याएर दोस्रो पार्टी बनेको छ। प्रत्यक्षमा ३६ सिट जितेको माओवादी केन्द्रले समानुपातिकबाट १७ सिट पाएको छ।

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले प्रत्यक्ष क्रमशः ११ र १० सिट पाएका छन् भने समानुपातिकमा ६/६ सिट ल्याएका छन् । राष्ट्रपतिलाई मतपरिणाम बुझाएपछि नयाँ सरकार गठन प्रकृया अघि बढाउने बाटो खुलेको छ ।