शनिबार, बैशाख ०८, २०८१

निर्वाचन तयारी पूरा,मंसिर २५ भित्र मत परिणाम आउने

काठमाडौं,२० मंसिर । दोस्रो चरणमा प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ ।

काठमाडौंका  १० वटै निर्वाचन क्षेत्रको संयोजन गरिरहेका मुख्य निर्वाचन अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा सबै  निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको छ ।  काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१ छन् ।  दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या ६ लाख ३० हजार ४६० छन् ।

दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक÷एक निर्वाचन अधिकृतसहित ५ हजार ८४८ कर्मचारी खटिएका छन । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् ।

निर्वाचन आयोगले मतगणनालाई सुरक्षित र व्यवस्थित गर्न सबै निर्वाचन क्षेत्रमा सीसीटीभी क्यामेरा र तारजाली प्रयोग गर्ने तयारी गरेको छ । ‘विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ’ पोखरेलले भन्नुभयो ।

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना चार दिनभित्र सक्ने बताएको छ ।

बिगतमा मतगणनामा भएको ढिलाईलाई ध्यानमा राखी चार दिन भित्र प्रत्यक्षतर्फका सबैको मतगणना सक्ने लक्ष्य आयोगले राखेको आयुक्त ईश्वरीप्रसाद पौडेलले बताउनु भयो ।  त्यस्तै, मतगणनामा विशेष सुरक्षा सतर्कता अपनाउने पनि उहाँले जनाउनु भयो ।

आयोगले मतगणना व्यवस्थित र सुरक्षित बनाउन त्यसैअनुसारको निर्देशन मातहतलाई पठाएको जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष निर्वाचन प्रणाली) तर्फको ४ दिनभित्र र समानुपातिकतर्फको ८ दिनसम्ममा गणना सक्ने लक्ष्य राखेका छौं’ उहाँले भन्नुभयो ।