शुक्रबार, बैशाख ०७, २०८१

‘न्यायो झोला उपहार कार्यक्रम’

आमा र शिशु मृत्युदर कम गर्ने उद्देश्यले शुरु गरिएको ‘न्यायो झोला उपहार’ कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु चार करोड रकम विनियोजन गरिएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुन पे्ररित गर्नका लागि शुरु गरिएको सो कार्यक्रम गत आर्थिक वर्षमा सरकारको प्राथमिकतामा नपरे पनि सोहि आवको चैतबाट पुनः सुरु गरिएको थियो ।

स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले देशभरका सबै जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिला र शिशुलाई न्याायो झोला वितरण गर्दै आएको छ ।

तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापालले आमा र नवजात शिशुको हितको कार्यक्रम भएको भन्दै गत आवको चैत महिनाबाट रु दुई करोड ५१ लाख विनियोजन गरी बन्द भएको कार्यक्रम पुनः सञ्चालनमा ल्याउनुभएको थियो ।

परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले चालु आवमा चार करोड रुपैयाँ विनियोजन भइ सबै जिल्लामा पठाइसकेको जानकारी दिनुभयो ।

नवजात शिशुको मृत्युदर घटाउने उद्देश्यसाथ सरकारले चार वर्षअघि न्यानो झोला कार्यक्रम सुरु गरेको थियो । शीतांगका कारण हुने नवजात शिशुको मृत्युदर हटाउन प्रभावकारी मानिएको यो कार्यक्रम एकाएक रोकिदाँ त्यसवेला सरकारको सर्वत्र आलोचना पनि भएको थियो ।

सरकारले दुई वर्ष लगातार बजेट छुट्याएर बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशु र सुत्केरी आमालाई न्यानो कपडा उपलब्ध गराउँदै आएको छ ।

आव २०७०÷७१ बाट शुरु भएको सो कार्यक्रमका लागि त्यस वर्ष रु १९ करोड छुट्याएको थियो भने आव ०७१÷७२ का लागि २१ करोड छुट्याएको थियो । त्यसपछिका आवमा यो कार्यक्रम सञ्चालन गर्न परिवार स्वास्थ्य महाशाखाले बजेट प्रस्ताव नगरेपछि कार्यक्रम नै कटौती भएको थियो । आव २०७३÷७४ को चैतबाट पुनः यो कार्यक्रम लागू गरिएको हो ।

सरकारले न्यानो झोला कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टरमा जन्मिएका नवजात शिशुलाई दुई जोर बाहिरी भोटो, दुई जोर भित्री भोटो, दुई जोर मोजा, दुई जोर ¥यापिङ बेड सिट उपलब्ध गराउनुका साथै सुत्केरी आमालाई एक जोर म्याक्सी उपलब्ध गराउँदै आएको छ ।

सरकारले न्यानो झोला तय गर्न सम्बन्धित बर्थिङ सेन्टरलाई प्रतिनवजात शिशु तराई तथा पहाडमा आठ सय र हिमाली जिल्लामा रु ९०० का दरले नगद उपलब्ध गराउँदै आएको छ ।

निर्देशक केसीले घरमा जन्मिएका नवजात शिशुलाई जन्मने बित्तिकै पुराना मैला लुगाले पुछ्नाले संक्रमण हुने र न्यानो लुगा नहुँदा शीतांग भएर मृत्यु हुने भएकाले त्यसको नियन्त्रणका लागि यो कार्यक्रम ल्याइएको र यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । कार्यक्रम सुरु भएपछि स्वास्थ्य संस्थामा आई सुत्केरी हुनेको संख्या पनि बढेको उहाँको भनाइ छ ।

“चिसोकै कारण जाडोअर्थात् ‘हाइटोथर्मिया’ भएर नवजात शिशुको उच्च मृत्युदर देखिएपछि यो कार्यक्रम ल्याइएको थियो,” निर्देशक केसीले भन्नुभयो, “अझै पनि नेपालमा नवजात शिशु र मातृमृत्युदर उच्च रहेकाले स्वास्थ्य संस्थामा नै सुत्केरी भई मृत्युदर घटाउनमा यो कार्यक्रम प्रभावकारी हुन्छ । ”

नेपालमा प्रत्येक दुई घण्टामा करिब तीनजना नवजात शिशुको मृत्यु हुने गरेको छ । त्यस्तो मृत्युमध्ये अधिकांश संक्रमणका कारण हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा प्रत्येक दुई घण्टामा तीनजना नवजात शिशुको मृत्यु हुन्छ ।

वर्षमा १३ हजार नवजात शिशु जन्मेको २८ दिनभित्रै ज्यान गुमाउँछन् । तीमध्ये अधिकांश संक्रमणकै कारण ज्यान गुमाउने गर्छन् ।