शनिबार, बैशाख ०८, २०८१

राष्ट्रपतिलाई वन्यजन्तुको अवस्थाबारे जानकारी

काठमाडौँ, २१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई वन्यजन्तु संरक्षणमा गरिएको प्रयासबारे विभिन्न सरोकारवाला पक्षले जानकारी गराएका छन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई नेपालमा वन्यजन्तुको संरक्षणमा हालसम्म भएको प्रयासबारे जानकारी गराइएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपनिर्देशक गोपालप्रसाद भट्टराईले ‘नेपालको वन्यजन्तु संरक्षणको वर्तमान अवस्था र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमा २०३० सालअघि तत्कालीन राजा सिकार खेलेर धेरै वन्यजन्तुको मार्ने गरेको र त्यसपछि एकल पारिस्थितिक प्रणालीको अभ्यास भए पनि विसं २०५० देखि संरक्षणमा समुदायको उपस्थिति, हावापानी अनुकूल संरक्षणमा ध्यान दिने काम भएको उल्लेख गरिएको छ । अहिले वन्यजन्तुको चोरी निकासी रोक्न राज्य संयन्त्र नै परिचालित हुन्छ ।

नेपाली सेनाका महासेनानी कृष्ण सापकोटाले ‘प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका’ बारे प्रस्तुत गर्नुभएको कार्यपत्रमा २० वटा संरक्षण क्षेत्रमध्ये १४ मा नेपाली सेनाले सुरक्षा दिएको र सो क्रममा १०९ जना नेपाली सेनाले ज्यानसमेत गुमाएको उल्लेख छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले प्रस्तुत गर्नुभएको कार्यपत्रमा वन्यजन्तुको संरक्षण र चोरी निकासी रोक्न राज्यका तर्फबाट राम्रो प्रयास गरिएको उल्लेख छ । संरक्षित क्षेत्रका पूर्वाधार पनि जीर्ण बन्दै गएको, कति ठाउँमा जग्गाको कमी र कहीँ बस्ती भएकाले समस्या हुने गरेको उहाँले कार्यपत्रमा औँल्याउनुभएको छ ।

नेपालमा ११८ पारिस्थितिक प्रणाली, ७५ वनस्पति प्रजाति, ३५ प्रजातिका वन, ८५० भन्दा बढी चरा प्रजाति रहेका छन् । रासस