सोमबार, मङि्सर २३, २०८२

कामको गति बढाउन मातहतका निकायलाई प्रधानमन्त्री निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २०८२/०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकमा प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताइन् ।

‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्‍न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि मन्त्री, सचिवलगायत प्रशासनिक नेतृत्वको अहं भूमिका हुन्छ। आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु।’

सरकारका कामबाट जनताको आकाङ्‍क्षा सम्बोधन नभएका कारण नवयुवा पुस्ताको आक्रोश विध्वंसात्मक रूपमा विस्फोट भएको बताउँदै उनले यसबाट समग्र सरकारी संयन्त्रले पाठ सिक्नुपर्ने उल्लेख गरिन् ।

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरुको उपस्थितिमा समीक्षा बैठक बसेको थियो।