आइतबार, माघ ०५, २०८२

सरकार राजनीतिक प्रतिसोधको बाटोमा हिँडेको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार राजनीतिक प्रतिसोधको बाटोमा हिँडेको निष्कर्ष निकालेको छ । आज बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित ५ जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयको भर्त्सना गर्‍यो ।

बैठकले योसहित तीन वटा निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले पत्रकारहरूलाई भने, ‘यत्रो लामो समय इतिहास बनाएका राजनीतिक दलहरूलाई पन्छाएको मात्र होइन, निषेध गरेर जाने खालका क्रियाकलाप देखियो । मुख्य राजनीतिक दलहरूसँग संवाद, सम्पर्क, समन्वय देखिँदैन । यसमा हामी चिन्तित छौँ ।’

बैठकले हालै सरकारद्वारा गठित जाँचबुझ आयोगले पार्टी अध्यक्ष लगायतको राहदानी रोक्काको सिफारिस गरेकोप्रति आपत्ति जनाएको छ ।
ज्ञवालीले भने, ‘गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर दसैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति सचिवालयको आपत्ति छ । यसले जाँचबुझ आयोगको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा गरेको छ ।’

यस्तै, भदौ २३ र २४ मा भएका विध्वंसकारी घटनामा संलग्न दोषीहरूमाथि कारबाही अघि नबढाउन गृह मन्त्रालयले दिएको निर्देशनमा पनि एमालेले असन्तुष्टि जनाएको छ । यसबाट प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमा हस्तक्षेप भएको र प्रहरीले निर्बाध काम गर्ने वातावरण बिग्रिएको एमालेको ठहर छ ।

एमालेले समसामयिक विषयवस्तुमाथि छलफल गर्न केन्द्रीय समिति बैठक डाक्ने निर्णय गरेको छ । त्यसभन्दा अघि असोज१९ गते सचिवालय बैठक बस्ने ज्ञवालीले जानकारी दिए ।

केन्द्रीय समितिको बैठक असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने उनले जानकारी दिए ।