मङ्गलबार, फागुन ०५, २०८२

जेनजीको भावना बुझ्दै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्छ: भण्डारी

काठमाडौं । एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको भावना बुझ्दै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन् ।

काठमाडौंमा शुक्रबार जेनजी आन्दोलनका भएका घटनापश्चात् मुलुकमा उत्पन्न परिस्थितिका बारेमा छलफल कार्यक्रमको आयोजना गर्दै भण्डारीले नयाँ पुस्ताको मनोभावना र माग बुझेर त्यसलाई सम्बोधन गर्ने वातावरण बनाउँदै राष्ट्रिय एकताका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएकी छन् ।

अहिलेको परिस्थितिमा पार्टीहरूको बिचमा पनि समन्वय र सहकार्य हुन जरुरी रहेको उनले बताइन् । भण्डारीले भ्रष्टाचारको नियन्त्रण र सुशासनको माग राखेर युवा पुस्ताले गरेको आन्दोलनमा भएको घटना शङ्कास्पद रहेको धारणा राखिन् ।

उनले नेपालको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि समस्या पर्न सक्ने भएकाले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउन सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेल्न उनले आह्वान गरिन् ।