सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् । उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।
शनिबार राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुसँग सुर्खेतमा आयोजित अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन् ।
चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दाबी गर्दा जेनजी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो,’ नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका कँडेलले भने । उनले राष्ट्रहितको पक्षमा उभिनु अपराध नभई गौरवको विषय भएको उल्लेख गर्दै युवा पुस्ताले यस विषयलाई निरन्तर उठाइरहनु पर्नेमा जोड दिए ।
देशको माटो बचाउन उठेका कदमलाई कमजोरीका रूपमा चित्रण गरेर सत्ता ढालिएको हो, तर इतिहासले यस्ता राष्ट्रवादी अडानलाई कहिल्यै नकार्दैन,’ कँडेलको भनाइ थियो ।
मुख्यमन्त्री कँडेलले वर्तमान अवस्थामा जेन्जी पुस्तालाई प्रगतिशील रूपमा संगठित गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

