बिहिबार, बैशाख १३, २०८१

सरकार पूर्णत असफल भएको कांग्रेस नेता सिंहको दावी

काठमाडौं ,१० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार पूर्णत असफल भएको दावी गरेका छन् ।

कांग्रेस नेता सिंहले जनतालाई छुने खालको कुनै पनि उल्लेखनीय कदम चाल्न नसकेको उल्लेख गर्दै वर्तमान सरकार पूर्णत असफल भएको प्रतिक्रिया दिएका हुन् ।

आइतबार मंगलादेवी सिंहको २२ को स्मृति दिवसको अवसर पारेर काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रममा बोल्दै उनले दुई तिहाई बहुमतको बलियो सरकारले जनतालाई मारमा पार्नेबाहेक अन्य केही काम गर्न नसकेको भन्दै चर्को आलोचना गरे ।

नेता सिंहले सरकारले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषीलाई छुटाउने प्रयास गरिरहेको आरोप समेत लगाए । महंगी बढाउने, माइतीघर मण्डलालगायतका क्षेत्रमा निषेधित क्षेत्र तोक्नेलगायतका नचाहिने काम गरेर सरकारले जनताको विश्वास समेत गुमाएको नेता सिंहको दावी छ ।

कांग्रेस नेता सिंहले सरकारले जनताको दुःख कष्टमा साथ दिने प्रयास समेत नगरेको दावी पनि गरे । त्यस अवसरमा उनले स्वर्गीय मंगलादेवी सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन, महिला अधिकारको आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको पनि स्मरण गरे ।

विक्रम संवत १९९७ सालमा राणा विरोधी आन्दोलनमा सरिक भएकी मंगलादेवी सिंहकै नेतृत्वमा २००४ सालमा नेपालमा पहिलो पटक संगठित महिलाहरुको संगठन नेपाल महिला संघको स्थापना भएको थियो ।