शनिबार, बैशाख ०८, २०८१

ओली नेतृत्व सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौं,१० जेठ । सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार १८ मन्त्रीमध्ये महिलामन्त्री थममाया थापा सबैभन्दा गरीब र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ धनी देखिएका छन् ।

महासेठका श्रीमतीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा २ र ललितपुरमा एउटा घर छ । श्रीमती जुलीकुमारी महतो र उनका नाममा धनुषामा २ र ललितपुरमा एउटा घर रहेको पनि उल्लेख छ ।

 

रवीन्द्र अधिकारी – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री

  • संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी ओली सरकारका सुनमा धनी मन्त्री हुन् । सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ ।

पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ ।

 

चक्रपाणी खनाल – कृषिमन्त्री

  • कृषि, भूमिव्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालको भने घरै छैन । आफ्नो सम्पत्ति विवरणमा उनले कपिलवस्तुमा तीन ठाउँमा जग्गा भएको उल्लेख गरेका छन् । तर, बैंकमा १४ लाख ९६ हजार बैंक मौज्दात छ भने १० लाख ३६ हजार रुपैयाँ मूल्यको सेयर छ ।

लालबाबु पण्डित – संघीय मामिला तथा स्थानीय विकासमन्त्री

  • संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले सवारी साधनका नाममा आफूसँग एक थान पुरानो साइकल रहेको उल्लेख गरेका छन् । विराटनगर एक कठ्ठामा बनेको ५ कोठे घर र ललितपुर भैसेपाटीमा पत्नी विमलाको नाममा ४ आना जग्गा रहेको पनि उनले उल्लेख गरेका छन् । उनीसँग १० तोला सुन र १५ तोला चाँदी छ । उनी र श्रीमतिका नाममा बैंक तथा वित्तीय संस्थामा ५५ लाख रुपैयाँ मौज्दात छ ।

रामबहादुर थापा – गृहमन्त्री लेगृहमन्त्री

  • रामबहादुर थापाले आफ्नो सम्पत्ति विवरणमा दुई वटा कुकुर पनि उल्लेख गरेका छन् । प्राप्त स्रोतमा छिमेकी लेखेका छन् । श्रीमती नैनकला थापाको नाममा चितवनमा घर र जग्गा, ६ तोला सुन र तीन लाख रुपैयाँ नगद भएको उल्लेख गरेका छन् ।

यसअघि पहिलो संविधानसभामा सभासद हुँदा २० हजार बैंकमा मौज्दात रहे पनि हाल निष्त्रिय रहेको उनले खुलाएका छन् । स्वकीय सचिव विरु तामाङको नाममा ६० हजार रहेको सम्पत्ति विवरणमा छ ।

अपर तामाकोशी जलविद्युतमा श्रीमतीका नाममा एक सय ४६ कित्ता सेयर रहेको उनले उल्लेख गरेका छन् ।
उर्जामन्त्रीसँग १५ तोला सुन र ३५ वर्ष पुरानो घर

 

वर्षमान-उर्जामन्त्री

  • उर्जामन्त्री वर्षमान पुनले आफ्नो सम्पत्ति विवरणमा रोल्पामा २ वटा २५ वर्ष र ३५ वर्ष पुरानो घर भएको उल्लेख गरेका छन् । उनीसँग १५ तोला सुन र आधा किलो चाँदी पनि छ ।

सात लाख रुपैयाँ नगद र साढे ३ लाख रुपैयाँ बैंक मौज्दात रहेको उनले सम्पत्ति विवरणमा खुलाएका छन् ।

 

मात्रिका यादव -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवसँग सिरहा र धनुषामा १/१ वटा घर छ । रविकिरण यादव र श्रीमती प्रमिलादेवी यादवका नाममा सिराहा, धनुषा र ललितपुरमा सात स्थानमा जग्गा भएको उनले उल्लेख गरेका छन् । उनीसँग ६ तोला सुन, १० तोला चाँदी र पाँच लाख ५२ हजार रुपैयाँ बैंक मौज्दात छ ।

प्रदीपकुमार ज्ञवाली – परराष्ट्रमन्त्री

  • परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको काठमाडौंमा दुईतले पक्की घर छ भने २ तोला सुन र २ लाख ५७ हजार बैंक मौज्दात रहेको आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् । उनीसँग करिब २५ सय पुस्तक छन् भने विभिन्न व्यक्तिसँग रहेको १४ लाख ८५ हजार रुपैयाँ ऋण सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

इश्वर पोखरेल – रक्षामन्त्री

  • रक्षामन्त्री इश्वर पोखरेलले भने काठमाडौंको टोखामा ३ तले घर, झापा, भक्तपुर र धादिङमा केही जग्गा रहेको उल्लेख गरेका छन् । उनीसँग ८ तोला सुन र २२ तोला चाँदी छ । आफू र श्रीमती मीरा ध्वँजुका नाममा १३ लाख ४० हजार बैंक मौज्दात रहेको र बैंक, जलविद्युत र कलेजमा गरी १५ हजार २ सय कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गिरिराजमणि पोखरेल – शिक्षामन्त्री

  •  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्नो सम्पत्तिका नाममा खोटाङमा एउटा घर र तीन लाख ८ हजार रुपैयाँ बैंक मौज्दात देखाएका छन् ।

डा. युवराज खतिवडा – अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडासँग ९ लाख ६० हजार बराबरको कार रहेको उल्लेख गरेका छन् । आफू र श्रीमतीका नाममा काठमाडौंमा दुई वटा घर र काठमाडौं, भक्तपुर, दोलखा र झापाका ६ ठाउँमा जग्गा भएको उनले सम्पत्ति विवरणमा जनाएका छन् ।

उनीसँग १० तोला सुन, एक किलो चाँदी र डेढ लाख नगद छ भने विभिन्न बैंक तथा वित्तीय संस्थामा ठूलो सेयर लगानी छ । विभिन्न बैंकमा गरी उनको १ करोड ५१ लाख रुपैयाँ बचत रहेको छ ।

 

गोकर्ण विष्ट – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग श्रीमती प्रतिमा श्रेष्ठका नाममा काठमाडौंमा एउटा घर र भीमबहादुर विष्टका नाममा गुल्मीमा दुई वटा घर छ । त्यस्तै, ७ तोला सुन तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा सात लाख ३२ हजार नगद मौज्दात र श्रीमतीका नाममा ३ सय १४ कित्ता सेयर रहेको उनले जनाएको छ ।

 

शक्तिबहादुर बस्नेत – वनमन्त्री

  • वनमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा एउटा घर, १५ लाख रुपैयाँ नगद, ५ तोला सुन, १० किलो चाँदी र बैंकमा २ लाख मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनले पार्टीको नाममा रहेको एउटा गाडी चढ्ने गरेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।

 

जगतबहादुर सुनार – खेलकुदमन्त्री

खेलकुद मन्त्री जगतबहादुर सुनारले आफूसँग ५० तोला सुन रहेको उल्लेख गरेका छन् । उनीसँग एउटा घर र केही जग्गा र आफूसहित श्रीमतिका नाममा २० लाख रुपैयाँ बैंक मौज्दात छ ।

 

शेरबहादुर तामाङ- कानूनमन्त्री

कानूनमन्त्री शेरबहादुर तामाङसँग श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर छ । सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा छ । उनीसँग ३० तोला सुन, एक लाख २८ हजार बैंक मौज्दात र श्रीमतीको एउटा कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।